logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • ‘एनपिएलले नेपालमा क्रिकेटको जग बसाल्यो’

    ‘एनपिएलले नेपालमा क्रिकेटको जग बसाल्यो’

    511
    Shares
    ‘एनपिएलले नेपालमा क्रिकेटको जग बसाल्यो’

    काठमाडौँ । नेपाल बुद्धको र सगरमाथाको मात्र नभएर क्रिकेटको भूमि पनि हो भनेर चिनाउने छौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना भइरहेको छ । अहिले विभिन्न आठ क्लवहरुले एनपिएलमा भाग लिइरहेका छन् । एनपिएलमा लगानी गर्न व्यवसायिक घरनाहरुको चासो देखिएको छ । यो वर्ष सुरुवात मात्र भएकाले आगामी वर्ष एनपिएलको उचाइ अझै बढ्ने अपेक्षा गर्न सकिन्छ । अझै पनि पर्याप्त रंगशाला पूर्वाधार तयार भइसकेको छैन् । यसमा राज्य र निजी क्षेत्र दुबैले लगानी गर्नुपर्ने देखिएको छ । नेपालमा क्रिकेटको अवस्था र भविष्यमा लिने बाटोको विषयमा केन्द्रीत रहेर लुम्बिनी लायन्स क्लवका अध्यक्ष ईश्वर जिसीसँग सुनौलो नेपालले गरेको वार्ता :

    नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सबाट सहभागिता जनाउनु भएको छ । क्लवको स्वामित्व कसरी लिनुभयो ?

    हामीले भन्दा पनि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागिता जनाउने एउटा सदस्य मात्र हौं । क्यानले एउटा परिकल्पना गर्यो । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले त्यसलाई गभर्न गर्यो । त्यसपछि क्यानले आयोजना गरेको एनपिएलमा हामी सदस्य बन्यौँ ।

    लुम्बिनी लायन्स क्लब स्थापना कसरी भयो ?
    क्लव स्थापना भन्दा म पहिलाको कुरा गर्न चाहान्छु । म सानैदेखि क्रिकेटमा रुची राख्थेँ र हल्काफुल्का आफैँ पनि खेल्थेँ । मेरो परिवारमा अन्य सदस्यहरु पनि क्रिकेटसँग जोडिएका हुनुहुन्छ । व्यवसायीक रुपमा नभई कहिले काहीँ मनोरञ्जनका लागि हामी परिवारका सदस्यहरु पनि क्रिकेट खेल्थ्यौँ । पछि हामीले दुई दशकअघि एउटा क्रिकेट क्लब गठन गरेका थियौँ । त्यो समयमा हामीले केवल मनोरञ्जनको रुपमा मात्र लिएका थियौँ ।

    क्रिकेटले नेपाललाई चिनाउँछ र यसले एउटा नयाँ सेगमेन्ट खडा गर्छ भन्ने त्यो बेलामा पनि लाग्थ्यो । पछि हाम्रा खेलाडी पारस खड्का र ज्ञानेन्द्र मल्ललगायत सम्पूर्ण खेलाडीहरुको ठूलो मेहनत र योगदानका कारण क्रिकेट यो अवस्थासम्म आयो । एउटा क्रिकेट खेल प्रेमीको हिसाबले हामी पर्दा पछाडि बसेर माया गरिरहन्थ्यौँ । जब भारतमा आइपिएल सुरु भयो, त्यसपछि नेपालमा पनि यो सम्भव छ भन्ने लागिरहन्थ्यो । यदि नेपालमा पनि आइपिएल जस्तै व्यवसायिक खेल भयो भने कुनै क्लब किन्ने मेरो सपना थियो । त्यो सपनालाई पछ्याइरहँदा क्यानले पनि एउटा जमर्को गर्यो, त्यो जमर्कोमा हामीले हातेमालो गरेका हौँ ।

    लुम्बिनी लायन्स क्लब किन्नुभएको हो कि आफैँले स्थापना गर्नुभएको हो ?

    लुम्बिनी लायन्स क्लब प्रतिस्पर्धा (बिडिङ ) मार्फत हामीले पाएका हौँ । त्यसपछि हामीले गठन गरेका हौँ । अब हामी यसलाई अझ व्यवसायिक रुपमा अघि बढाउने छौं ।

    अहिले चलिरहेको एनपिएलमा सहभागिता र लगानीकर्ताको चासो कस्तो पाउनु भएको छ ?

    अहिले एकदमै रोचक भइरहेको छ । हामीले जुन परिकल्पना गरेका थियौँ, त्योभन्दा सयौँ गुणा एनपिएलले उचाइ लिइरहेको छ । अब वास्तवमै यसले आफ्नो जग बसाल्यो र बाटो समात्यो जस्तो लाग्छ । जसले क्रिकेट बुझ्नुभएको छ, उहाँहरुले त माया गर्नुभयो नै । तर, जसले क्रिकेट नै बुझ्नुभएको छैन उहाँहरुलेसमेत गरेको माया देखेर गर्व महसुश हुन्छ । उहाँहरुले दिनुभएको माया, सद्भाव, सुझावबाट हामी निकै हर्षित छौँ । यसले जुन बाटो समातिरहेको छ, हामीले गर्नुपर्ने काम हामी जिम्मेवारपूर्वक पुरा गर्नेछौँ । नेपाल बुद्धको, गोर्खाको, सगरमाथाको भूमि भनेर चिनिन्छ, अब केही वर्षमा क्रिकेटको भूमि पनि हो है भनेर चिनाउने हाम्रो सपना छ, त्यो सपनामा हामी अगाडि बढेका छौं र लिएको सपना सम्भवतः पूरा हुनेछ ।

    अहिलेको माहोल हेर्दा नेपाली क्रिकेट व्यवसायिकरण हुने देखिन्छ, यसमा युवाहरुको निकै चासो पनि छ, आगामी वर्ष कस्तो हुने अनुमान गर्नुभएको छ ?

    यसमा उत्साह अझै बढ्दै जानेछ । खेलमा एउटा सेगमेन्ट थपिएको छ । खेल, खेल मात्र नभएर भावना भइसक्यो । यो व्यवसायिकरणसँग जोडियो, यो पर्यटनसँग जोडियो,रोजगारसँग जोडियोे र श्रमसँग जोडिएकाले अब यो अगाडि बढ्छ । यसको उत्साह दिन प्रतिदिन बढ्दै जानेमा हामी ढुक्क छौँ ।

    यसले रोजगारी पनि सिर्जना गर्छ भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

    प्रत्यक्ष, अप्रत्यक्ष रुपमा रोजगार अहिले नै सुरु भइसकेको छ । आगामी वर्ष अझै व्यवसायिकरण गरेर अझै सफल र प्रोफेसनल रुपमा हामी पक्कै अघि बढ्छौँ । यसमा सरोकार राख्नेहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारको लागि पक्कै जोडिनुहुन्छ ।

    तपाईं आफै पनि व्यवसायी हुनुहुन्छ, एनपिएल प्रति व्यवसायिक घरनाहरुको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    राम्रै प्रतिक्रिया पाएका छौं । यो पटक कस्तो हुने हो, के हुने हो भन्ने चासो सवत्र्र छ । यो समय तपाईं गर्नुहोस्, अर्को पटक हामी पनि हेरौँला भन्नेहरु पनि हुनुहुन्छ । कतिपयले चाहिँ यो धेरै राम्रो काम हो, पहिलै हुनुपर्ने थियो । क्यानले यति ठूलो काम गरेको छ र तपाईँहरुले पनि जमर्को गरिरहनुभएको छ, अगाडि बढ्नोस्, हामी साथमा छौँ भनेर ढाडस दिइरहनुभएको छ ।

    आगामी वर्ष योभन्दा राम्रो हुनेमा ढुक्क हुनुहुन्छ ?

    एकदमै ढुक्क छौं, एनपिएल अझ व्यवस्थित हुनेछ । आशा गरौँ कीर्तिपुरमा फ्लड लाइट जोडिने छ । आशा गरौँ मोफसलमा क्रिकेट ग्राउण्ड बन्नेछन् र फ्लड लाइट त्यहाँ पनि राख्नेछन् । यसमा आकर्षण बढ्नेमा हामी आशावादी छौँ ।

    लुम्बिनी लायन्समा मोबाइल सेवा प्रदायक एनसेल पनि सहभागी भएको छ,यो सम्भव भयो ?

    हामीले धेरै पहिला नै प्रस्तावहरु पठाएका थियौँ । मलाई लाग्छ, अन्य क्लबहरुले पनि पठाएका थिए होलान् । एनसेल व्यवस्थापन निर्णय प्रक्रियामा नै हुनुहन्थ्यो । मलाई लाग्छ, कुन क्लब बेस्ट हो भन्दा उहाँहरुले हामीलाई रोज्नुभयो, यो लुम्बिनी लायन्सका लागि खुशीको कुरा हो । उहाँहरु पनि क्रिकेट खेलमार्फत जनतासँग जोडिन चाहनु भएको छ । नेपालको क्रिकेट विकासमा उहाँहरु जोडिन चाहनुभएको छ । हामीलाई त्यसको काबिल ठान्नुभयो र हामीसँग जोडिनु भयो ।

    क्रिकेट प्रति जति चासो र माहोल छ, यो समयमा खेल्ने ग्राउण्डको अभाव छ । क्रिकेट ग्राउण्ड निर्माणमा यहाँहरुको केही योजना छ ?

    निजी क्षेत्रबाट रहने सपना मध्ये यो पनि एक हो । जहाँ पनि सरकारले नै यस्ता कामहरु गर्ने भएका सरकारलाई हामीले झक्झकाउने छौँ । पछिल्लो अवस्थामा थोरै लगानी पनि सरकारले गरेको छ । क्यानका सम्पूर्ण पदाधिकारीहरु अहोरात्र खट्नुभएको छ । उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँहरुको यो खटाई र सम्पूर्ण खेलाडीहरुको परिश्रम र त्यागले नै आज यो सम्भव भएको हो । आफ्नो गोजीबाट निकालेर पनि उहाँहरु राष्ट्रिय टिममा खेल्नुभयो । क्रिकेट त्यो लेबलबाट यो लेबलसम्म आइसकेको छ । अलिकति व्यवसायिकरण भइसकेको छ । त्यो भएर पनि सरकारको आँखा पक्कै पनि जानेमा आशावादी छौँ । हामीले जहिले पनि सरकार, सरकार मात्र भन्छौँ । सरकारलाई मात्र औँला उठाउने तर आफू केही नगर्ने हामीमा त्यो भाव हुने भएकाले सरकारलाई झक्झकाउने त छौँ नै, हामी आफैँ पनि खटिने छौँ । हाम्रो क्लवको आफ्नै क्रिकेट क्लबको एउटा स्टेडियम बनाउने मेरो सपना छ । सम्भवतः यो पहिलो पाइला मात्रै हो । आगामी दिनमा हाम्रो पाइलाहरु अगाडि बढ्दै जानेछन् ।

    भनेपछि, लुम्बिनी लायन्सको आफ्नै क्रिकेट स्टेडियम हुन्छ ?

    यो हाम्रो सपना हो । मेरो मुख्य सपना नै यही हो । अहिलेसम्म तयारी त छैन । विदेशमा बस्ने लुम्बिनी प्रदेशका हाम्रो एक जना युवा हुनुहुन्छ । उहाँले एक्ट्रा ओभल भनेर ४० करोड रुपैयाँ लगानीमा बनाइरहनु भएको छ, त्यसलाई नै हामीले होम ग्राउण्डको रुपमा सहकार्य गरिरहेका छौँ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : 


    एनपिएलले व्यवसायिक रुप लिन लागेको देखिएको छ । नेपालले विश्वकप खेलाउन कहिले सक्ला ?

    अहिलेको अवस्था हेर्दा क्रिकेटको विश्वकप आयोजना गर्न धेरैे टाढा कुरिरहनु पर्छ जस्तो मलाई लाग्दैन । नेपालको मौसमको हिसाबले, अतिथि देवो भवः भन्ने जुन हाम्रो सत्कार छ, त्यसको हिसाबले पनि यहाँ विश्वकपका लागि उपयुक्त स्थान हो । क्रिकेट खेल्न पर्याप्त ग्राउण्ड बन्यो भने र यहाँ हस्पिटालिटीको क्षेत्रमा पर्यटकको लागि होटलहरु निर्माण हुने हो भने विश्वकपको लाग खासै लामो समय कुर्नुपर्छ जस्तो मलाई लाग्दैन । अबको १०/१५ वर्षभित्र त्यो सम्भव छ । जुन होटलहरु बनिरहेका छन्, त्यसको निर्माण सम्पन्न भएपछि हामी विश्वकपका पाहुनाहरुलाई सत्कार गर्न सक्छौँ । ग्राउण्डको कुरा गर्दा कीर्तिपुर पनि व्यवस्थित हुँदैछ । मुलपानीको ग्राउण्ड सरकारले बनाइरहेको छ र चितवनमा पनि ग्राउण्डको काम सरकारले अगाडि बढाइरहेको छ । चार पाँच वटा ग्राउण्डहरु राम्रो भयो भने असम्भव भन्ने नै छैन । हाम्रो राष्ट्रिय स्तरका खेलाडीहरुले राम्रो ‘पर्फमेन्स’ गरेर विश्वकपको दाबेदार हुने हो भने नेपालमा विश्वकप खेलाउने सम्भव छ । आइपिएल लगायत विश्वका नोटिसेवल लिगहरु अबको ५/७ वर्षमा नेपालमै खेलाउन सम्भव छ ।

    क्लब बनिसकेपछि त नयाँ खेलाडी ल्याउन, उनीहरुलाई प्रशिक्षण दिन थप लगानीको पनि आवश्यकता पर्छ, त्यो कसरी व्यवस्थापन गर्नुहुन्छ ?

    अहिलेसम्म हामी आफैँले नै लगानी गरिरहेका छौँ । मलाई लाग्छ, यो वर्षको ‘स्पोन्सर’बाट पनि हामीलाई सहयोग पुग्नेछ । अझै दुई/चार वर्ष लगानी थप्नुपर्छ भन्नेमा हामी छौँ । दुई/चार वर्षमा क्लबले आफ्नो हाईट लिनेछ र लगानीको प्रतिफल पनि मिल्नेमा हामी ढुक्क छौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend