काठमाडौं । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आइतबार लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको हो ।
कार्यक्रमलाई लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेशका माननीय सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे।

आइतबार साँझ भारत र नेपालका प्रख्यात कलाकारहरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति रहेको दूतावासले जनाएको छ । सोही कार्यक्रममा स्वजन रघुवंशी र उनको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।

महोत्सवको एक हिस्साको रूपमा आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदा” विषयक शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरूको सहभागीता थियो ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताजनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको छ।’

कार्यक्रममा प्रदेश सभा सदस्य, बुटवल उप-महानगरपालिकाका मेयर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षकहरुका साथै नागरिक समाजका सदस्य एवम् वरिष्ठ भिक्षुहरू, लुम्बिनी विकास कोषका परिषद् र कर्मचारीसहितको उपस्थिति रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस