२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

जलविद्युतमा आक्रामक बन्दै घिमिरे, संखुवा खोला आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा सवा ६ अर्ब ऋण

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । देशको अर्थतन्त्रदेखि भान्छासम्म जोडिएको पेट्रोलियम व्यापारबाट उदाएका व्यवसायी शिवप्रसाद घिमिरे अहिले लगानी विविधिकरण गरिरहेका छन् । उनले अहिले जलविद्युतमा आक्रामक रुपमा लगानी बढाइरहेका छन् ।

सुदूरपश्चिमको बझाङमा रहेका ६५ मेगावाट क्षमताका तीन जलविद्युत आयोजनामा लगानी गरेका घिमिरेले अहिले ४१ मेगावाटको संखुवा खोला जलविद्युत आयोजना निर्माण थालेका छन् ।

घिमिरेले यसअघि लिटिल एन्जल्स ग्रुपको साझेदारीमा निर्माण भएका १०.७० मेगावाटको बुंगल हाइड्रो, १५.३३ मेगावाटको कलांगा हाइड्रो र ३८.४६ मेगावाटको सानिगाड हाइड्रो सञ्चालनमा छ ।

अटोमोबाइल, कत्था, चियाबगानलगायत व्यवसायमा हात हालेका घिमिरे नेपालको ठूलो व्यवसायिक घरानाको सूचीमा दरिएका छन् । उनले एसजी ग्रुप साम्राज्य खडा गरेका छन् ।

उनका ८ वटा ग्यास उद्योग छन् । ४४ वटा पेट्रोलपम्पबाट घटाएर ७ वटामा झारेका छन् । उनले पछिल्लो समय पेट्रोलियममा पनि लगानी विस्तार गर्न लागेका छन् ।

खाना पकाउने ग्यास प्रतिस्थापन बिजुलीबाट हुन सक्छ । जलस्रोतमा धनी नेपाल बिजुलीको प्रशस्तै सम्भावना भएको देश हो । बिजुली नै उत्पादन गरेर भारत, बंगलादेश, चीनलगायत आसपासका ठूला देशहरूमा बेच्न सकिने उनको भनाई छ ।

तीन जलविद्युत आयोजना सम्पन्न गरेपछि घिमिरेले अहिले भोजपुर र संखुवासभामा रहेको संखुवा खोला आयोजना बनाइरहेका छन् । यो आयोजना बनाउन ८ अर्ब २० करोड रुपैयाँ लाग्ने एसजी ग्रुपका अध्यक्ष घिमिरेले बताएका छन् । आयोजनामा बैंकको ऋण ६ अर्ब १५ करोड र स्वपुँजी (इक्विटी) लगानी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा ६ अर्ब १५ करोड रुपैयाँ लगानी हुने भएको छ । सिटिजन्स बैंक र विकासकर्ता कम्पनी गुराँस हाइड्रो लिमिटेडबीच ऋण लगानी सम्झौता भएको छ । जसअनुसार सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनामा नेको इन्स्योरेन्स लिमिटेडले पनि स्वपुँजी लगानी गरेको छ ।

आयोजना स्वपुँजीबाट निर्माण भइरहेकोमा अब बैंकबाट लगानी जुटेको उनले बताए । आयोजना २०८५ कात्तिक २० गतेभित्र बिजुली बाल्ने लक्ष्य लिएको गुराँसका कार्यकारी अध्यक्षसमेत रहेको घिमिरेले बताए । उनले निर्धारित समय भन्दा ६ महिनाअघि नै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको सुनाए । आयोजनाको निर्माण २०८० मंसिरदेखि निर्माण सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणसँग २०८० फागुनमा विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भएको हो । यस्तै विद्युत विकास विभागले यही मंसिर ७ गते विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको गुराँसले जनाएको छ ।

आयोजनाको डिजाइ डिसचार्ज प्रति सेकेन्ड १५.२५ घनमिटर रहेको छ । आयोजनाको हेड ३ सय १५ मिटर रहेको छ । आयोजनाबाट वार्षिक २४ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको बाँधको लम्बाइ ४२ मिटर, उचाइ ६ मिटर, सुरुङको लम्बाइ ५.७ किलोमिटर रहेको छ ।

यस्तै अडिट टनेल ४ सय मिटर, पेनस्टक पाइपको लम्बाइ ७ सय २५ मिटर रहेको अध्यक्ष घिमिरेले बताए । आयोजनाबाट उत्पादन हुने बिजुली ३.७ किलोमिटर लामो संखुवासभास्थित शितलपाटी २२० केभी सबस्टेशनमा जोडिने भएको छ । गुराँस हाइड्रोले ३.७ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन आफै बनाउने भएको उनले सुनाए । आयोजना संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पासिलिछो गाउँपालिकामा रहेको छ । आयोजनाको विद्युतगृह साल्पासिलिछोमा पर्छ । अहिलो आयोजनामा पंहुचमार्ग निर्माण सम्पन्न गरेको छ ।

सिटिजन्स बैंकको १५ आयोजनामा लगानी

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले १५ जलविद्युत आयोजनामा अगुवा बैंकको रुपमा ऋण लगानी गरेको बताएका छन् । सिटिजन्सले ३ वटा जलविद्युत आयोजना अघि बढाएको छ । यस्तै ९ वटा सहवित्तीयकरणमा अघि बढाएको छ । १५ वटा परियोजनाबाट ६ सय ४१ मेगावाट बिजुली उत्पादन हुने उनले जानकारी दिए । जलविद्युतमा लगानी बढाइरहेको उनले बताए ।

यस्तै नेको इन्स्योरेन्सका सिइओ अशोककुमार खड्काले जलविद्युत अयाोजनामा लगानी गर्न थालेका बताएका छन् । उनले संखुवा खोला आयोजनामा इक्टिी लगानी गरेको र ३० मेगावाटको सुपर मादी आयोजनामा लगानी गर्ने तयारी भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट