शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

अनधिकृत आयातले स्वदेशी चिनी बिक्री भएन, ऊखु किसानलाई भुक्तानी दिन समस्या

अनधिकृत आयातले स्वदेशी चिनी बिक्री भएन, ऊखु किसानलाई भुक्तानी दिन समस्या

काठमाडौं । पछिल्लो समय भारतबाट चिनीको अत्याधिक चोरी पैठारी बढेको छ । भारतबाट भन्सार छलेर चोरी बाटोबाट चिनी आयात भएपछि नेपाली चिनी बिक्री घटेको उद्योगीहरुले बताएका छन् ।

चिनी बिक्री नभएपछि किसानलाई ऊखुको भुक्तानी गर्न नसक्ने अवस्था आएको चिनी उद्योगीहरुले बताएका छन् । नेपाल चिनी उद्योगसंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली चिनी बजारमा माग हुन छाडेको जानकारी गराएको छ । संस्थागत रुपमा चिनी प्रयोग गर्ने उद्योगहरु बाहेक खुद्रा पसमा नेपाली चिनी बिक्री हुन छाडेको संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।

चिनी बिक्री नभए ऊखु किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आउने संभावना बढेर गएको उनले सुनाए । चिनीको व्यापक चोरी पैठारी हुँदा सरकारलेसमेत राजस्व गुमाएको अग्रवालले जानकारी दिए ।

चोर बाटो हुँदै भन्सार छलेर भारतबाट आयात हुने चिनीको मूल्य किलोमा १० देखि १२ रुपैयाँ सस्तो पर्ने उनले सुनाए । भारतमा सरकारले ऊखु किसानलाई ठूलो रकम अनुदान दिएकाले त्यहाँ चिनीको मूल्य सस्तो हुने गरेको र चोरी पैठारीले झनै सस्तो बनाएको उनको भनाई छ ।

सरकारले चिनी आयातमा ३० प्रतिशत भन्सार दर तोकेको छ । संघका अनुसार, नेपालमा वार्षिक चिनीको माग २ लाख ५० हजार टन रहेको छ । यस्तै नेपाली १३ उद्योगहरुबाट २ लाख २० हजार टन उत्पादन भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा अनुदानका कारण सस्तोमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री नभइ मौज्दात रहँदा किसानलाई ऊखुको रकम भुक्तानीमा समस्या भएको अध्यक्ष अग्रवालले जानकारी गराएका छन् । यो वर्ष पनि यस्तै अवस्था आउन लागेको उनको भनाई छ ।

अहिले ६० प्रतिशत उद्योगहरुले ऊखु क्रसिङ सुरु गरेको र बाँकी ४० प्रतिशत उद्योग केही दिनभित्र सञ्चालन हुने अवस्थामा रहेको उनले जानकारी दिए । चिनी बिक्री नभएको अवस्थामा क्रसिङ सुरु भएकाले चिनीको मौज्दात अझै बढ्ने संघले जानकारी दिएको छ । चिनी मिल वर्षमा औसत १ सय दिन मात्र सञ्चालन हुने गरेका छन् । १ सय किलो ऊखु क्रसिङ गर्दा औसत ९ किलो चिनी मात्र उत्पादन हुने गरेको छ ।

मुलुकमा अहिले १३ चिनी उद्योग सञ्चालनमा रहेका छन् । गत वर्ष उद्योगहरुले २ करोड ३८ हजार ७ सय ५५ क्विन्टल ऊखु क्रसिङ गरेर १ लाख ७८ हजार ७ सय १७ क्विन्टल चिनी उत्पादन भएको संघले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend