बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उद्योग वाणिज्य महासंघको विद्यान परिवर्तनले दिएको सन्देश

उद्योग वाणिज्य महासंघको विद्यान परिवर्तनले दिएको सन्देश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मंगलबार सम्पन्न विशेष साधारणसभाले एक कार्यकालपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरि विधान संशोधन भएको छ । एफएनसीसीआई ८ वर्षपछि अध्यक्ष निर्वाचनबाट छान्ने प्रणालीमा फर्किएको हो ।

गत असार २४ गते सम्पन्न एफएनसीसीआईको कार्यकारणी समितिले दुई कार्यकालपछि मात्रै अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन गर्ने गरी विधान संशोधनको प्रस्ताव गरेको थियो । तर, विशेष साधारणसभाले भने एक कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरेको छ ।

विशेष साधारणसभामा अधिकांश सदस्यले पहिलो कार्यकालपछि अर्थात अन्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन जानुपर्ने धार बलियो भएपछि यसअघि कार्यकारणी समितिले गरेको निर्णयबाट साधारणसभा पछि हटेको हो ।

यता महासंघको वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले दुई कार्यकालपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । यता पूर्व अध्यक्ष कुशकुमार जोशी र रामचन्द्र संघइलगायत अन्य पदाधिकारीको जोड अन्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुनुपर्नेमा थियो । विशेष साधारणसभामा जोशी र संघइको एजेन्डा सफल भएको छ ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश सदस्यहरुको धारणा बुझेपछि विधान संशोधनको प्रस्ताव राखेका थिए । अध्यक्ष ढकालले राखेको श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचबाट गर्ने प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रुपमा पारित गर्यो । अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको यसमा स्वार्थ मिलेको देखिन्छ । यता वस्तुगत अध्यक्ष ढकाल र जोत्सनाको प्रस्ताव कमजोर भयो ।

‘प्रत्यक्ष निर्वाचित प्रणाली दुई कार्यकालपछि हुने व्यवस्था भएमा अझै ७ वर्ष कुर्नुपर्ने हुन्छ । त्यसबेलासम्म जे पनि हुन सक्छ’ महासंघका एक पूर्व अध्यक्षले सुनौलो नेपालसँग भने ‘त्यसैले एक कार्यकालपछि नै प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने व्यवस्था लागु गर्ने निर्णय भयो, यो सकरात्मक कुरा हो ।’

२०७३ मा एफएनसिसिआईको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो ।
पूर्व अध्यक्ष चण्डीराज ढकाललको जोडबलमा भवानी राणालाई अध्यक्ष बनाउन विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएको थियो । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थामा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष भइसकेका छन् । डेढ वर्षपछि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि स्वतः अध्यक्ष हुने भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचनमा अध्यक्षको जस्तै भड्किलो खर्च गर्ने प्रवृति देखिएपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने पुरानो प्रणालीमा फर्किएको हो ।

यसअघि पनि विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भए पनि सहमति भएको थिएन् । सहमति हुन नसक्दा वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुने गरी निर्वाचन हुँदै आएको छ ।

तर, ढकाल अध्यक्ष भएको डेढ वर्षमै महासंघले विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा जाने बाटो रोजेको छ ।

सभाले अध्यक्षको कार्यकाल पनि दुई वर्षलाई बनाएको छ । यसअघि चण्डीराज ढकालले आफ्नो कार्यकालमा दुई वर्षको अवधिलाई बढाएर तीन वर्ष पुर्याएका थिए । ढकाल चुनाव हारेपछि कुशकुमार जोशीले सो अवसर पाएका थिए । त्यसपछि निरन्तर कायम रहेको तीन वर्ष कार्यकाल अब अन्जनपछि दुई वर्षमा आउनेछ ।

चुनावको रौनक बढ्दो

विशेष साधारणसभाअघि नै महासंघका चुनावी रौनक बढेको थियो । महासंघको विशेष साधारणसभाले प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीको व्यवस्था गरेपछि अब चुनावको रौनक झनै बढ्ने देखिएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षलगायत अन्य पदाधिकारीहरुको निर्वाचन हुन झण्डै डेढ वर्ष बाँकी छ । तर, अहिलेदेखि नै व्यवसायीमाझ चुनावी सरगर्मी बढ्न थालेको छ ।

महासंघको नयाँ नेतृत्वका लागि चुनावी साधारणसभा २०८२ चैत अन्तिममा हुन्छ । तर, अहिलेदेखि नै चुनाव लागिसकेको छ । ७७ वटै जिल्लामा सञ्जाल रहेको शक्तिशाली व्यवसायिक संस्था भएकाले नेतृत्वमा आउन चाँडै कसरत हुने गर्छ ।

महासंघका एक पूर्वअध्यक्षका अनुसार साधारणसभा सकिने वित्तिकै नयाँ नेतृत्वका लागि राजनीति सुरु हुने गरेको छ । ‘महासंघ यस्तो संस्था हो, जसमा मतगणना सकिनेवित्तिकै नयाँ नेतृत्वका लागि राजनीति सुरु हुन्छ’ उनले सुनौलो नेपाललाई भने, ‘१५ महिनाअघि आउनु त के नौलो कुरा भयो र ?’

यो पनि :

एफएनसीसीआईको विधान संशोधन, अन्जन श्रेष्ठपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट

एफएनसिसिआईको विशेष साधारणसभा : प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्किदै

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend