काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, विमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाए । उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिए ।
उनले लगानी प्रवद्र्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताए । उनले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गरे ।
उनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा वाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे । उनले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताए ।
उनले भने, ‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन । म आफैं अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आएको थियो । फेक देखिएपछि राजीनामा दिनुस् भन्दा मान्नुभएन । आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नुभयो । अहिले अख्तियारले मुद्दा दायर गरेको छ ।
हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ । विगतका वर्षका दायित्व नै धेरै हुन्छ। यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ । कहिलेकाहीँ हालका अर्थमन्त्रीले नीति तथा कार्यक्रममा भएका कुराहरु परिवर्तन गर्न लागेको, पूर्वाधार आयोजना हटाउन लागेको भन्ने विषय पनि आउँछन् । तर बजेट एकदमै ग्राउनलेबलबाट आएको छ । अर्को सरकार वा अर्थमन्त्रीले ल्याएको बजेट भनेर फरक कोणले हेर्नुपर्ने आवश्यकता छैन ।’
उनले सरकार र नियमनकारी निकायहरुबीच ट्युनिङ मिल्ने/नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताए । उनले निजी क्षेत्रको अहिले पनि मनोवल माथि उठ्न नसकेको दाबी गरे ।