काठमाडौं । हुलास ग्रुप र केएल दुगड ग्रुपको साझेदारीमा ठूलो स्टिल उद्योग सञ्चालनमा आउने भएको छ । दुई व्यवसायिक प्रतिष्ठानको १५ अर्ब रुपैयाँ लगानीमा प्राइम स्टिल प्रालि सञ्चालनमा आउन लागेको हो ।
अहिले स्टिल प्लान्ट पुर्वाधार निर्माण भइरहेको प्राइमले जनाएको छ । उद्योगको वार्षिक स्टिल उत्पादन क्षमता साढे ६ लाख टन रहेको छ । स्टिल उद्योग निर्माण दुई चरणमा निर्माण हुने भएको छ ।
पहिलो फेजमा हट रोल्ड स्ट्रिप उत्पादन गर्ने रहेको छ । पहिलो फेजको उत्पादन क्षमता वार्षिक साढे ३ लाख टन रहेको प्राइमले जनाएको छ । बाँकी ३ लाख टन दोस्रो फेज रहेको छ । स्टिल प्लान्ट पर्साको पोखरियामा निर्माण हुने भएको छ ।
पहिलो फेज पूर्वाधारमा १५ अर्ब रुपैयाँ खर्च हुने प्राइमले जनाएको छ । ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विट) हुने गरी लगानी संरचना तयार पारिएको छ । अहिलेसम्म संस्थापकहरुले १८.५३ प्रतिशत स्वपुँजी लगानी गरिसकेका छन् । ऋण लिनेका काम अहिले स्थगित रहेको उद्योगले जनाएको छ । ११ अर्ब पुँजी लगानी र ४ अर्ब रुपैयाँ चालूपुँजी कर्जा रहेको छ । उद्योगले १२ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
जसअनुसार ८ अर्ब ८० करोड दीर्घकाल र ३ अर्ब २० करोड रुपैयाँ अल्पकालिन ऋणको रेटिङ गराएको छ । समयमा स्टिल प्लान्ट पूर्वाधारको काम सक्न चुनौति रहेको उद्योगले जनाएको छ । स्टिल प्लान्ट निर्माण प्रारम्भीक चरणमा रहेको छ । अहिलेसम्म २.४५ प्रतिशत वित्तीय प्रगति भएको छ । जग्गा प्राप्ति, फर्निचर एन्ड फिक्चर्स लगायतमा खर्च भएको जानकारी प्राइमले दिएको छ ।
प्राइम स्टिल सन् २०२२ मा स्थापना भएको हो । सौरभ दुगड र सरद गोल्छा उद्योगको सञ्चालक हुन् । गोल्छाले सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, हुलास पावर र हाइग्राउन्ड एडभेन्चर्स प्रालि सञ्चालन गरिरहेका छन् । यस्तै सौरभ दुगड ग्रुपका साथै गुराँश लाइफ इन्स्योरेन्सका सञ्चालक हुन् ।
सरकारले निर्यातजन्य उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिँदै आएको छ । यस्तै मासिक १० करोड रुपैयाँ बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशत सहुलियतका साथै १ हजार रोजगारी दिने उद्योगलाई आयाकरमा ३० प्रतिशत छुट दिँदै आएको छ ।