काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गरेकी छन् ।
सो अवसरका उनीहरुबीच नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध र सहयोगका विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।
उनीहरुका बीचमा नेपाल र युरोपियन युनियनले यस बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाइरहेको विषयमा पनि कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
त्यस भेटका अवसरमा मन्त्री डा देउवाले नेपाल सन् २०२६ मा अतिकम विकसितबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि युरोपियन युनियनलाई आग्रह गरेका थिए ।
नेपाल अतिकम विकसित देशको श्रेणीबाट मध्यमस्तरको राष्ट्रका रुपमा स्तरोन्नति हुन लागेकाले यसलाई दीर्घकालीन र सहज बनाउने रणनीतिमा युरोपियन युनियन लगायत नेपालका दाता राष्ट्र एवं संस्थाहरुको सहयोगको अपेक्षा नेपालले गरिरहेको उनले बताए ।
सो भेटवार्ताका क्रममा मन्त्री डा देउवाले युरोपियन युनियनले इयु नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोग्राम (टिप) नेपालमा सफलतापूर्वक कार्यान्वयनमा ल्याएकामा युरोपियन युनियनलाई धन्यवाद पनि दिइन् । सो कार्यक्रमले नेपालमा व्यापार तथा लगानीलाई प्रवर्धन गर्न सहयोग पुर्याएको जानकारी मन्त्री डा देउवाले कमिसनर जोजेफ सिकेलालाई गराए ।
मन्त्री डा देउवाले नेपालको शान्ति प्रक्रियामा युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको जानकारी पनि उनलाई गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस