logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • काठमाडौं मोडेल माविको रजत जयन्ती महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न

    काठमाडौं मोडेल माविको रजत जयन्ती महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न

    273
    Shares
    काठमाडौं मोडेल माविको रजत जयन्ती महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न

    काठमाडौं । वि.सं. २०५७ मा स्थापना भएर शिक्षाका माध्यमबाट राष्ट्र विकासको नेतृत्व गरिरहेको काठमाडौं मोडेल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको २५ औँ वर्षलाई रजत महोत्सवका रुपमा उद्घाटन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।

    विद्यालयले मंसीर २९ गते शनिबारका दिन औपरिचक कार्यक्रमको आयोजना गरी रजत जयन्तीको उद्घाटन गरेको हो । सो अवसरमा विद्यालयले ६.३ किलोमिटर दूरीको मिनि म्याराथन प्रतियोगिता पनि सम्पन्न गरेको छ । राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त दौडमा ३५ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    छात्र र छात्रालाई छुट्टाछुट्टै रुपमा आयोजना गरिएको दौडको रुट बागबजारबाट पुतली सडक, कमलादी हुँदै कमलपोखरी, ज्ञानेश्वर, गौशालाचोक, पुरानो वानेश्वर, सेतो पुल, मैतीदेवी, डिल्लीबजार हुँदै पुनः बागबजारसम्म निर्धारण गरिएको थियो ।

    दौडलाई व्यवस्थित गर्नका लागि दशभन्दा बढी स्थानमा स्वयम् सेवक, शिक्षकशिक्षिका र कर्मचारी परिचालन पनि गरिएको थियो । म्याराथन दौडमा छात्रतर्फ अभिषेख मगर प्रथम, सुदिप थपलिया द्वितीय र निराजन पुन तृतीय भएका थिए भने छात्रातर्फ निकिता कुँवर प्रथम, कृष्टिना कतिला द्वितीय र निर्मला वि.क. तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

    दुबैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजारका दरले नगद पुरस्कार मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । यस्तै दुबैतर्फ दसौँ स्थानसम्म प्राप्त गर्न सफल भएका धावकहरुलाई पनि नगद पुरस्कार र प्रमाण–पत्र वितरण गरिएको थियो ।

    म्याराथनपछि विद्यालय प्राङ्गणमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्तीको औपचारिक उद्घाटन गरियो । विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रजत जयन्ती मूल आयोजक समितिका संयोजक एवम् विद्यालयका प्राचार्य डा. नगेन्द्र बहादुर अर्यालले रजत उत्सवका अवसरमा विद्यालयले वर्षभरिमा सम्पन्न गर्ने कार्यक्रमको घोषणा गरे ।

    उनले यस वर्ष विद्यालयले आफ्नो स्थापनाको २५ औँ वर्षमा २५ ओटा विशेष कार्यक्रमको आयोजना गर्ने बताए । यसअन्तर्गत रजत जयन्ती विशेष स्मारिका प्रकाशन र भव्य समारोह बिच त्यसको विमोचन गर्ने, स्कुल आउट रिच प्रोग्रामअन्तर्गत शिक्षा क्षेत्रमा विशेष योगदान दिने देशभरका विद्यालयहरुलाई विशेष सम्मान गर्ने, अल्मुनाइ आउटरिच कार्यक्रमको आयोजना गरी देशभरका मेडिकल र इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई कलेजमा नै गएर सम्मान गर्ने, के.एम.सी. रजत जयन्ती छात्रवृत्तिअन्तर्गत सन् २०२५ को भर्नामा २५ जना विद्यार्थीहरुलाई विशेष छात्रवृत्ति प्रदान गर्नेलगायतका कार्यक्रमहरु रहेको प्राचार्य डा. अर्यालले बताए ।

    यस्तै यस अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविर, आल्मुनाइ एसोसिएसनसँगको सहकार्यमा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, एजुकेसनले कन्क्लेभजस्ता कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि प्राचार्यले जानकारी दिए । उनले कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त मालीगाउँ, महानगरीय ट्राफिक, नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखा, काठमाडौं महानगरपालिका वडा नं. २८ को कार्यालय, पत्रकारहरुलगायतका सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य राख्दै राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरले राष्ट्र निर्माण गर्नका लागि युवाशक्तिमा सङ्कल्प हुनुपर्ने बताए । उनले हाल देशमा देखा परिरहेको युवायुवतीको विदेश पलायनले राष्ट्र नै पलायन हुन सक्ने बताउँदै देश बनाउनका लागि यही माटोमा कर्म गर्नुपर्ने विचार राखे । आफूलाई अमेरिका लगायतका मुलुकहरुमा बसोबास गर्ने अवसर मिले पनि देशको मायाले यहीँ आएको बताउँदै उनले आजका युवाहरुलाई विदेशमोह त्यागेर देश विकासको यात्रामा लाग्नसमेत अनुरोध गरे ।

    कार्यक्रमका सभापतिसमेत रहेका शिक्षा सेवी एवम् विद्यालयको सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर अर्यालले राष्ट्र विकास र समृद्धिको मुख्य धरोहर शिक्षा भएकाले यसको विकास गरेर नै देशको विकास गर्न सकिन्छ भन्ने विश्वासले नै आफूलाई शिक्षा क्षेत्रमा लाग्ने प्रेरणा मिलेको र विद्यालयको स्थापना गरेको बताए ।

    उनले विद्यालयको यो पच्चिस बर्षे यात्रामा साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, कर्मचारी एवम् शुभचिन्तकहरुप्रति धन्यवाद पनि ज्ञापन गरे । रजत जयन्ती मूल समारोह समितिका सदस्यसमेत रहेका परीक्षा संयोजक डिडी अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका शिक्षकशिक्षिका एवम् कर्मचारीहरु, विद्यार्थीहरु, आल्मुनाई प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend