आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

फिनटेक कम्पनी एफ वान सफ्टको डिजिटल व्यापार बढ्दो, एक वर्षमा १३ अर्ब कारोबार

फिनटेक कम्पनी एफ वान सफ्टको डिजिटल व्यापार बढ्दो, एक वर्षमा १३ अर्ब कारोबार

काठमाडौं । मुलुकको पायोनियर फिनटेक कम्पनी एफ वान सफ्ट इन्टरनेसनल प्रालिको व्यापार बढेको छ । एक वर्षमा एफ वान सफ्टले १२ अर्ब ८४ करोड रुपैयाँ डिजिटल कारोबार गरेको छ । अघिल्लो वर्ष कम्पनीले १२ अर्ब १९ करोड ५० लाख रुपैयाँ डिजिटल कारोबार गरेको थियो ।

एक वर्षमा कम्पनीको डिजिटल कारोबार ५.२८ प्रतिशत अर्थात साढे ६४ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ ।

२०२२ मा एफ वान सफ्टले १५ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको थियो । २०२१ मा एफ वानले ११ अर्ब ७८ करोड रुपैयाँ व्यापार गरेको थियो । यस्तै कम्पनीले २०२० मा ८ अर्ब ५ करोड र २०१९ मा ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

डिजिटल कारोबार बढ्दै गएकाले कम्पनीको नाफा राम्रो देखिएको छ । एफ वान सफ्टको राम्रो लाभांश ८० प्रतिशत लगानी भएको सहायक कम्पनी इसेवाबाट प्राप्त हुने गरेको छ । यस्तै अर्को सहायक कम्पनी पेमेन्ट गेटवे फोन पेको खुदनाफा ८ सय ४० प्रतिशत बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

नाफाबाट कम्पनीले २ सय र १ सय प्रतिशत लाभांश वितरण गरेको छ । एफ वान सफ्टले २०२३ मा ४८ प्रतिशत अन्तरिम लाभांश भुक्तानी गरेको छ ।

कुल कारोबारमा ब्लक एसएमएस र डिजिटल टपअपको बिक्री हिस्सा ९८ प्रतिशत रहेको छ । डिजिटल वालेट र पेमेन्ट गेट वे मा राम्रो उपस्थिती रहेको छ । कम्पनीले ८१ करोड १२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

कम्पनीले नेपालका बैंक तथा वित्तीय संस्थामा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रणाली विकास गरेको छ । ५४ मध्ये ४५ बैंक तथा वित्तीय संस्थामा एफ वान सफ्टको मोबाइल र इन्टरनेट बैंकिङ सफ्टवयेरबाट बैंकिङ कारोबार भइरहेको छ ।

मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको फोन ब्यालेन्स र अन्य उपयोगिताहरू साथै बल्क एसएमएस सेवाहरूको डिजिटल टपअपको व्यापारमा एफ वान संलग्न छ । फिनटेक बिजनेसमा एफ वान सफ्ट अगुवा कम्पनी हो ।

कम्पनीको कूल आम्दानीको ९८ प्रतिशत हिस्सा उत्पादन र सेवाहरूको बिक्रीबाट भएको छ । दूरसञ्चार कम्पनीको डिजिटल टपअप र बल्क एसएमएस सेवा समावेश छ ।

पछिल्ला वर्षमा फिन्टेक डोमेन (बहु सहायक कम्पनीमार्फत) एफ वानको उपस्थिति बढेको छ । समूहभित्रको सबैभन्दा पुरानो कम्पनी डिजिटललगायत समूहका अधिकांश कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष लगानी भएको वालेट र भुक्तानी गेटवे सेवा छन् ।

टेलिकम कम्पनीहरू र इन्टरनेट सेवा प्रदायकलगायतका डिजिटल टप अप र एसएमएस सेवाको थोक व्यापारमा एफ वान सफ्टअन्तर्गत उत्पादन र सेवाको बलियो ग्राहक आधारलाई ध्यानमा राखेर यसले नेतृत्वको स्थान प्राप्त गरेको छ ।

एफ वानसँग फिनटेक स्पेक्ट्रमभरी काम गर्ने धेरै सहायक र सहयोगी पनि छन् । डिजिटल वालेट कम्पनी इसेवा लिमिटेड, पेमेन्ट गेटवे कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रविधि आधारित अन्य कम्पनीहरु छन् । कम्पनीको अध्यक्ष विश्वास ढकाल हुन् उनी एफ वानमा ३५ प्रतिशत स्वामित्वसहित प्रमुख सेयरधारक पनि हुन् । एफ वान सफ्टको स्थापना सन २००४ मा भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend