logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • आइएमईको ५ अर्ब लगानीमा चिसापानीमा जालपादेवी केबुलकार, परराष्ट्र मन्त्रीले गरिन् शिलान्यास

    आइएमईको ५ अर्ब लगानीमा चिसापानीमा जालपादेवी केबुलकार, परराष्ट्र मन्त्रीले गरिन् शिलान्यास

    1.3K
    Shares
    आइएमईको ५ अर्ब लगानीमा चिसापानीमा जालपादेवी केबुलकार, परराष्ट्र मन्त्रीले गरिन् शिलान्यास

    काठमाडौं । व्यवसायिक घरना आइएमई समूहको ५ अर्ब रुपैयाँ लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केबुलकार निर्माण हुने भएको छ । केबुलकारको शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरेकी छिन् ।

    कैलालीको लम्की चुहाँ नगरपालिका वडा नम्बर ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबुलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

    कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको केबलकारको बटम स्टेसनमा केबुलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् । टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काईवाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. राणाले जालपादेवी केबुलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।

    परराष्ट्र मन्त्री राणाले भनिन् ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।’

    मन्त्री राणाले आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल गरिन् ।

    ‘काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबुलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई जस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमताअनुसार यो केबुलकार प्रोजेक्ट समयमै सम्पन्न होस भनी कामना गर्दछु’ उनले भनिन् ।

    वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले निर्माण हुने केबुलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । ‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस । हामी तपाईहरुलाई स्वागत गर्दछौं’ उनले भने ।

    उनले वन विकासमा वाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे ।
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबुलकार र रिसोर्टले सहासिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।

    उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

    सो अवसरमा जालपादेवी केबुलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए ।
    उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’

    उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए ।
    अध्यक्ष ढकालले केबुलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । स्थानीय समुदाय, राजनीतिक दलहरु र सरकारका निकायहरुको सहयोग अन्य केबुलकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

    यो पनि :

    कैलालीमा जालपादेवी केबुलकार निर्माण सुरु, आइएमई ग्रुपको पाँच अर्ब लगानी

    सातै प्रदेशमा केबुलकार सर्किट निर्माण गर्दै ‘केबुलकार किङ’ चन्द्र ढकाल

    मुलुकभरी केबुलकार : निजी क्षेत्रको १ खर्ब लगानी, आइएमईको सबैभन्दा बढी

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend