काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ ।
रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ ।
केन्द्रिय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधबारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको शुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताए । उनले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताए ।
उनले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरु फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताए ।
पछिल्लो समय रगतको माग बढ्दै गएपनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको रोगहरुको जोखिम बढेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्दै आएका थिए । रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा सावित हुने उनको विश्वास छ ।
यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाएको थियो ।