२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान र व्यवसायी विस्थापित हुने अवस्था

सोमवार , पौष १५, २०८१

चितवन । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै संकटको अवस्थामा पुगेको गुनासो गरेका छन् । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताए ।

यसैगरी लेयर्स चल्ला साताको तीन लाखबाट एक लाखमा झरेको, कलर ब्रोइलर (गिरिराज) सातामा पाँच लाख उत्पादन हुने गरेकामा दुई लाखमा झरेको, दैनिक ६० लाख गोटा अण्टा उत्पादन २४ लाखमा सीमित भएको तथ्याँक प्रस्तुत गरे । चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उनको भनाइ छ । उनका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल तीन हजार पाँच सय टनमा झरेको छ ।

मासु दैनिक १० लाख किलोबाट छ लाखमा झरेको भट्टले जानकारी दिए । उनले भने, “आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका छन् ।”

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताउछन् । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उनले भने “साना किसान धेरै विस्थापित भएका छन्, ठूलाले केही धानेका छन् ।” बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठूला फर्महरुले जोखिम मोल्दै उत्पादन गरिरहेको उनको भनाइ छ ।

ठूला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उनले उल्लेख गरे। उनले भने “अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।” १० हजारदेखि ४ लाखसम्म कुखुरा पाल्नेलाई ठूला किसानको रुपमा लिने गरिएको छ ।

ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न ७० रुपैयाँ खर्च हुने भए अहिले ३० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। यस्तै एक सय ४० मा तयार हुने लेयर्स चल्ला ७० रुपैयाँमा बिक्री गर्नु पर्दा धेरै विस्थापित हुनुपरेको बताए । तीन सय ८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरु बन्द भएको उनले बताए।

यस्तै १५ वटा लेयर्स ह्याचरीमध्ये पाँच वटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिए । उनले भने, “जग्गा लिलाम हुने अवस्थामा छ, राज्यले हेरेन ।” सहुलियत कृषि ऋण हटेको भन्दै उनले चल्ला उत्पादन गर्ने माउ झिकाउन आर्थिक अभाव हुँदा ह्याचरीहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ ।

चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएका छन् । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी २ सय ५० रुपैयाँ लागत पर्ने भए अहिले किसानले १ सय ८० रुपैयाँमा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उनको दाबी छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष डा रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अण्डा र मासुको खपत कम भएको बताउछन् । उनले भने, “एसियाली मुलुकमा एक जनाले वार्षिक एक सय आठ वटा अण्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अण्डा र आठ किलो मासु मात्रै खपत छ ।”

पाँच वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अण्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उनले यसो हुन नसकेको बताए। उनले भने, “नेपालमा प्रोटिनको उपभोग निकै कम छ ।”

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य बढेको र उत्पादनले सोअनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय सङ्कटमा परेको विचार व्यक्त गरे । यही अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुने उनको दावी छ ।

यसैबीच १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यसअवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अण्डा र मासुमा पाइने पौष्टिक तत्वबारेमा चिकित्सकहरुबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मनाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट