logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • साढे ४१ अर्बमा बझाङ माथिल्लो सेती आयोजना बन्दै, लक्ष्मी सनराइजको अगुवाइमा ऋण लगानी

    साढे ४१ अर्बमा बझाङ माथिल्लो सेती आयोजना बन्दै, लक्ष्मी सनराइजको अगुवाइमा ऋण लगानी

    203
    Shares
    साढे ४१ अर्बमा बझाङ माथिल्लो सेती आयोजना बन्दै, लक्ष्मी सनराइजको अगुवाइमा ऋण लगानी

    काठमाडौं । निजी लगानीमा स्थापना भएको समृद्धि इनर्जी लिमिटेडले २ सय १६ मेगावाटको बझाङ माथिल्लो सेती अर्धजलासय जलविद्युत आयोजना बनाउने भएको छ ।

    अर्धजलासय आयोजना बनाउन ४१ अर्ब ६० करोड ९० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अनुमानित लागतलाई आधार मान्दा प्रति मेगावाट १९ करोड २६ लाख रुपैयाँ पर्ने देखिएको छ । आयोजनामा ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी अनुपात हुने गरि लगानी संचना बनाइएको छ । यस्तै सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर जुटाउने योजना समृद्धिको छ ।

    २९ अर्ब ९० करोड रुपैयाँ बैंकको ऋण लगानी हुने भएको छ । समृद्धिले ऋणको रेटिङ गराएको छ । इन्फोमेरिक्सबाट समृद्धिले डबल बि माइनस स्कोर पाएको छ । बाँकी लगानी स्वपुँजीबाट जुटाउने तयारी कम्पनीको छ । लक्ष्मी सनराइज  बैंकको अगुवाइमा अन्य बैंकसँगको सहवित्तीयकरणमा ऋण लगानी हुने भएको छ । यद्यपि, वित्तीय व्यवस्थापन हुन बाँकी छ ।

    अहिलेसम्म आयोजना प्रारम्भीक चरणमा रहेको छ । २ प्रतिशत वित्तीय र ८ भौतिक प्रगति भएको विकासकर्ता कम्पनी समृद्धिले जनाएको छ । आयोजना आगामी २०८८ असार ३१ गते (सन् २०३१ जुलाई १५) सक्ने लक्ष्य राखेको विकासकर्ता समृद्धि इनर्जीले जनाएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाबाट बिजुली उत्पादन गर्न समृद्धिले अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ ।

    अर्धजलासय आयोजनाबाट वार्षिक १ अर्ब २२ करोड ९६ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ८३ करोड ४५ लाख ३० हजार र सुक्खामा ३९ करोड ५० लाख ७ हजार युनिट बिजुली उत्पादन हुनेछ ।

    कम्पनीले सेतीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याँकन (इआइए) तयार पारिसकेको छ । आयोजनाको विद्युतगृहमा ५५.७ मेगावाट क्षमताका ४ वटा भर्टिकल एक्सिस पेल्र्टन टर्वाइनबाट २ सय १६ मेगावाट बिजुली उत्पादन हुनेछ ।

    विद्युतगृहबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १ सय २६ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको कैलालीको लम्कि सबस्टेशनमा जोडिने छ । आयोजनाको सबै संरचना बझाङको साइपाल गाउँपालिकामा पर्छ ।

    विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली वर्खामा युनिटको ४.८० रुपैयाँ तय गरेको छ । यस्तै सुक्खायाममा आयोजनाको पिकिङ क्षमताअनुसार न्यूनतम ८.५० देखि अधिकतम् १०.५५ रुपैयाँ तोकेको छ ।

    यो पिकिङलाई आधार मानेर पिपिए दर तय गरिएको हो । सुक्खायाममा दैनिक ४ देखि ६ घण्टासम्म पिकिङ भएमा युनिटको १०.५५ रुपैयाँमा पिपिए दर तोकिएको छ । आयोजनाले ५ लाख ५२ हजार ४ सय २० घनमिटर पानी भण्डारण गरी अधिकतम् ४.५ घण्टा विद्युत उत्पादन हुने समृद्धिले जनाएको छ । आयोजनाले वर्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ ।

    आयोजना सुदुरपश्चिम प्रदेशको बझाङ साइपाल गाउँपालिकामा रहेको सेती नदीको पानीलाई उपयोग गरेर बिजुली उत्पादन हुने भएको हो । विद्युतगृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ । आयोजनको ग्रस हेड ७ सय ५० मिटर रहेको छ ।

    आयोजना निर्माण हुने ठाउँ इङ्गल्दार र सेती खोलाको वरिपरी ५८ दशमलव १५ हेक्टर वन नोक्सान हुनेछ । आयोजनाको बाँध साइपालको वडा नम्बर ४ र ५ मा रहने भएको छ । अन्य संरचना सेती नदीको बाँया किनारमा रहने छ । नदीको पानी फर्काउन ४० मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण प्रस्ताव गरिएको छ ।

    समृद्धि इनर्जी सन् २०१६ मा स्थापना भएको हो । आइपिओ निष्कासन गर्न २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend