२०८३, श्रावण ६ गते

बुधवार, श्रावण ६ गते २०८३

गगनविरुद्ध मोहन बस्नेतको कडा घोषणा : ‘अब नयाँ कांग्रेस बनाउने बेला आयो’

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसको वर्तमान नेतृत्वसँग अब सहकार्य सम्भव नरहेको निष्कर्ष निकाल्दै नयाँ पार्टी निर्माणको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले अब “एकता“ को नाममा समय खेर फाल्ने अवस्था नरहेको बताए। उनले आजकै दिन केन्द्रीय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वलाई आग्रह गरे।

‘उहाँहरू भदौ २ गतेबाट वडा अधिवेशनमा लाग्दैछन्। हामी एकता–एकता भनेर बसिरहने अवस्था छैन,’ बस्नेतले भने, ‘आजै घोषणा गरौं, नयाँ पार्टी बनाऔं। देशभरि समानान्तर भातृ संगठन विस्तार गरौं। महिला, विद्यार्थीलगायत सबै संगठनलाई अघि बढाएर नयाँ कांग्रेस निर्माण गर्नुपर्छ।’

बस्नेतले आफूहरू पार्टी फुटाउन नभई बीपी कोइरालाले स्थापना गरेको कांग्रेसको मूल विचार र लोकतान्त्रिक मूल्य जोगाउने उद्देश्यले नयाँ पार्टी बनाउन लागेको दाबी गरे। उनका अनुसार सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न भइसकेकाले अब तत्काल केन्द्रीय भेला गरेर अन्तिम निर्णय लिनुपर्ने अवस्था आएको छ।

उनले गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले लोकतान्त्रिक शक्तिलाई कमजोर बनाएको आरोप लगाउँदै प्रजातन्त्रवादी शक्तिलाई त्यससँग ‘सति जान’ नदिने बताए।

‘पार्टी फुटाउने होइन, पार्टी बनाउने हो। गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिने होइन। कमजोर पार्टीको नेता बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्नु राम्रो हुन्छ,’ उनले भने।

बस्नेतले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन सञ्चालन भएको दाबी गर्दै त्यसकै कारण कांग्रेस कमजोर बनेको आरोप लगाए। उनले गगन थापाको नेतृत्वमा भएको निर्वाचनबाट पार्टी ‘खरानी’ बनेको टिप्पणी गर्दै गगन काठमाडौं–४ बाट चुनाव लडेको भए जमानतसमेत जफत हुने दाबी गरे।

उनले गगन नेतृत्वको कांग्रेस भदौ २ गतेदेखि महाधिवेशन प्रक्रियामा प्रवेश गर्न लागेकाले अब सहमतिको सम्भावना समाप्त भएको जिकिर गरे। नयाँ पार्टी निर्माणमा ढिलाइ नगर्न र नेतृत्वलाई पनि ‘खुट्टा नकमाउन’ उनले आग्रह गरे।

बस्नेत यसअघि पनि गगन थापासँग एउटै पार्टीमा बसेर काम गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन्। उनी कांग्रेसभित्र गगन थापाको नेतृत्वका सबैभन्दा कडा आलोचकहरूमध्ये एक मानिन्छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट