logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना परीक्षण प्रयोगशालाका कर्मचारीले नै पाएनन् पारिश्रमिक 

    कोरोना परीक्षण प्रयोगशालाका कर्मचारीले नै पाएनन् पारिश्रमिक 

    4.3K
    Shares

    तम्घास ।  गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् ।

    प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एकजना कुकले पारिश्रमिक नपाएका हुन् । उनीहरूले ८ असोज २०७७ सालदेखि कोभिड-१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए ।

     जिल्ला विपद् व्यवस्थापन समिति बैठकले २०७७ साल जेठ ३१ को कोभिड-१९ प्रयोगशाला र आइसोलेशन सेन्टर सञ्चालन गर्न प्रतिनगरपालिकाले रु १५ लाख र प्रतिगाउँपालिकाले रु १० लाख उपलब्ध गराउने निर्णय गरेको थियो । तर केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका हुन् । 

    जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार गुल्मी दरबार, सत्यवती र चन्द्रकोट गाउँपालिकाले रकम उपलब्ध गराएका छैनन् । अहिलेसम्म रेसुङ्गासहित इस्मा, मालिका, धुर्कोट, रुरु क्षेत्र र छत्रकोट गाउँपालिकाले रकम उपलब्ध गराएको रेसुङ्गा नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासिनीले जानकारी दिए ।

     कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख दिएको र बाँकी रकमका लागि प्रक्रियामा रहेको मरासिनीले बताए। उनका अनुसार मुसिकोट नगरपालिकाले रु १० लाख र मदाने गाउँपालिकाले रु १० लाख उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको छ । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

    उपकरण र जनशक्ति व्यवस्थापनमा शुरुबाटै रकम अभाव भए पनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा समस्या भएको हो । आफूहरूले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेशन व्यवस्थापन गरे पनि रकम दिन बाँकी रहेका स्थानीय तहले नदिएसम्म स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन नसकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी बताए । 

     प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले नै पारिश्रमिक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख र गुल्मी अस्पताल प्रमुखलगायतलाई ध्यानाकर्षण गराएको मेडिकल ल्याब टेक्नोलोजिस्ट मुना क्षेत्रीले जानकारी दिए । कोरोना सङ्क्रमणका बेला जोखिम मोलेरै काम गरेका स्वास्थ्यकर्मीले नै पारिश्रमिक नपाउनु लापर्वाही भएको उनको गुनासो छ । 

     स्वास्थ्यकर्मीको टोलीले ५ पुस २०७७ सालमा जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ रुद्रादेवी शर्माकोसमेत ध्यानाकर्षण गराएको ल्याब टेक्निसियन दीपेन्द्र पन्थीले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend