काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताए ।
उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताए । उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताए । उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ ।
अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन ।
अब ०८७ सम्म कुर्नुपर्ने । यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्यो । प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने । यसको जवाफ दिनुपर्यो ।’
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने उनले बताए ।