लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन् ।
बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताए ।
“धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भने, “समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”
उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे । उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए ।
“प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।
कार्यक्रममा एनसेलका प्रतिनिधि डिल्लिराम श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थाले आश्रमको भवन निर्माणको लागि रु १० लाख सहयोग गरेको बताए । उनले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा हालसम्म रु दुई अर्बभन्दा बढी सहयोग गरेको बताए ।
आश्रमकी संयोजक अनिता अधिकारीले चन्दादाता, विभिन्न सङ्घसंस्था, स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भइरहेको बताइन् । आश्रममा हाल २४ जना रहेका उनले जानकारी दिइन् ।
यसैबीच मन्त्री गुरुङले आजै यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको अवलोकन गरेका छन् । लमजुङ बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको अवलोकन गर्दै उनले भवन निर्माण सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
त्यस अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले भवन निर्माणको अवस्था, चुनौती, समस्या तथा बजेटबारे जानकारी गराइन् । उनले जग्गा सम्याउन, पहिरो रोकथाम, पर्खाल निर्माण र तीन वटा घर निर्माणलगायत काममा रु छ करोडभन्दा बढी खर्च भइसकेको बताइन् ।
उनले हालसम्म ४० प्रतिशत निर्माण कार्यसम्पन्न भएकाले बाँकी काम गर्न आर्थिक सहयोगका लागि संयोजक अधिकारीले मन्त्री गुरुङलाई आग्रह गरिन् ।
विसं २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न संघसंस्थाको सहयोगमा भवन निर्माण भइरहेको छ । आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ ।