logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा

    विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा

    161
    Shares
    विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा

    भोजपुर । यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

    यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

    विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आएका छन् । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उनले बताए ।

    “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उनले भने ।

    स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताए ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

    पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उनले जानकारी दिए ।

    “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उनले भने, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ/दश लाखको कारोबार हुन्छ ।”

    बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताए । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड उनले दिए ।

    स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उनको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिए ।

    विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहेका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताए ।

    “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उनले भने, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार/पाँच लाख कमाउन समस्या छैन ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend