logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • रेमिटको घुन्सा खोलालाई लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ७० करोड ऋण, कुन बैंकको कति ?

    रेमिटको घुन्सा खोलालाई लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ७० करोड ऋण, कुन बैंकको कति ?

    280
    Shares
    रेमिटको घुन्सा खोलालाई लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ७० करोड ऋण, कुन बैंकको कति ?

    काठमाडौं । घुन्सा खोला जलविद्युत आयोजना बनाउन ऋण लगानी सम्झौता भएको छ । आयोजना विकासकर्ता रेमिट हाइड्रो लिमिटेड र लक्ष्मी सनराइज बैंकबीच ७७.५ मेगावाटको घुन्सा खोला आयोजना बनाउन ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा रेमिट हाइड्रोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नगेन्द्रनाथ ज्ञवाली र लक्ष्मी सनराइज बैंकका सिइओ अजय बिक्रम शाहले हस्ताक्षर गरेका छन् । लक्ष्मी सनराइजको अगुवाइमा पाँच बैंकको १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।

    जसअनुसार लक्ष्मी सनराइजले ५ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) कोे ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४५ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

    आयोजना काम सुरु गरको चार वर्ष अर्थात सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य रहेको रेमिट हाइड्रोका सिइओ ज्ञवालीले जानकारी दिए । आयोजना निर्माणको लागि निर्माण अवधिको ब्याजसहित ऋण र स्वपूंजीको अनुपात ७०३० हुने उनले बताए ।

    स्वपूंजी लगानी संस्थागततर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत स्वामित्व रहेको छ ।

    ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण सेयर तर्फको ४९ प्रतिशत मध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको लागि, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई र बाँकी १० प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ ।आयोजना बने पनि प्रतिमेगावाट लगानी २३ करोड ४० लाख रुपैयाँ हुने देखिएको छ ।

    ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं। ५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी ७७.५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको छ ।

    घुन्सा खोला आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ अर्ब १३ करोड रुपैयाँ लाग्ने रेमिट हाइड्रोका सिइओ ज्ञवालीले बताए । सिइओ ज्ञवालीका अनुसार ५ अर्ब ४४ करोड स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।

    योजनाबाट उत्पादित विद्युत उर्जा आयोजनाको विद्युत गृह देखि करिव ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत आयोजनाहरुबाट सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिने मार्गेन स्थित २२० १३२ केभी तमोर सबस्टेशन र सोबाट करिव ३२ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको ढुंगेसाँघु स्थित २२० केभी सबस्टेसनमा जोडिने छ ।

    आयोजना बनाउन विद्युत विकास विभागले रेमिटलाई २०७९ साउन १८ गते विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको थियो । रेमिट हाइड्रो २०७१ मंसिर २८ गते स्थापना भएको हो । आयोजनाको ग्रस हेड ४ सय ३२ मिटर रहेको छ । मुख्य सुरुङको लम्बाइ ४.२० किलोमिटर रहेको रेमिटले जनाएको छ । आयोजना सन् २०१४ मा पत्ता लागेको हो ।

    आयोजनाको बाँध स्थल, इन्टेक, थिग्राउने पोखरी र पहुँच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब ४ हजार ३ सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ ।

    विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछन् । टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको छ । हेडरेस सुरुङ, सर्ज ट्याङक, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ ।

    आयोजना पूरा भएपछि वार्षिक सरदर ४५ करोड ८५ लाख ८ हजार युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

    सम्बन्धित समाचार

    रेमिट हाइड्रोको घुन्सा खोला आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाई १२ अर्ब ७० करोड ऋण

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend