काठमाडौं । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रुपमा लिएको बताए । उनले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताए ।
सत्तारुढ दलहरुमा यसबारेमा कुनै समस्या नरहेको पनि बताए । उनले संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको बताए ।
उनले भने, ‘यो बैठकको मुख्य उद्देश्य भनेको १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ । हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो । सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रुपमा एउटा सकारात्मक सन्देश संप्रेषण गरेको छ । निजी क्षेत्रलाई उत्साहित बनाएको छ । यसमा पनि छलफल भएको छ ।
सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन । संसदमा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने । हामीले शालिनताका साथ संसदलाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसदलाई बढी भन्दा बढी कानून निर्माणको थलोका रुपमा विकास गर्न छलफल भएको छ ।’
उनले १८ गतेको संसदको बैठकमा प्रधानमन्त्रीसहित शिर्ष नेताहरुले सम्बोधन गर्ने र संसदको काम कारबाहीहरुमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको बताए ।