विराटनगर / नेपाली कम्युनिष्ट पार्टी, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले वर्तमान राजनीतिक परिस्थितिमा नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य गर्ने वातावरण बनेको बताएका छन्।
कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले देशको राजनीतिक अवस्था र जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउन वाम शक्तिहरूबीच सहकार्य आवश्यक भएको धारणा राखे।
उनका अनुसार तत्काल पार्टी एकीकरणको सम्भावना नरहे पनि साझा राजनीतिक एजेन्डामा सहकार्य गर्ने विषयमा सकारात्मक समझदारी विकसित हुँदै गएको छ। उनले यसबारे विभिन्न चरणमा छलफल भइसकेको पनि जानकारी दिए।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो राजनीतिक जीवनमा पटक–पटक नयाँ मोड ल्याएको स्मरण गर्दै आगामी महाधिवेशनबाट पनि अर्को महत्वपूर्ण परिवर्तनको सुरुवात हुने संकेत गरे। उनले त्यसलाई आफ्नो राजनीतिक यात्राको ‘अन्तिम क्रमभंग’ को रूपमा उल्लेख गर्दै पार्टी पंक्तिलाई त्यसका लागि तयार रहन आग्रह गरे।
उनले विचार र रणनीतिमा मतभेद हुन सक्ने भए पनि समग्र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताए। उनका अनुसार विभाजनभन्दा एकता र सहकार्यले मात्रै राजनीतिक उद्देश्य हासिल गर्न सहयोग पुग्नेछ।
यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि असन्तुष्टि व्यक्त गरे। सरकारमा सहभागी भएपछि छोटो अवधिमै रास्वपाको कार्यशैलीप्रति जनतामा प्रश्न उठ्न थालेको उनको दाबी थियो।
सीमामा भन्सार नीतिदेखि सुकुम्बासी बस्ती हटाउने निर्णयसम्मका विषय उल्लेख गर्दै उनले ती कदमले गरिब तथा विपन्न वर्गप्रति सरकारको दृष्टिकोण स्पष्ट भएको टिप्पणी गरे। उनका अनुसार ती निर्णयका कारण रास्वपाप्रति जनविश्वास घट्दै गएको छ।
प्रचण्डले वर्तमान सरकारमाथि नवउदारवादी तथा निरंकुश शैलीमा अघि बढेको आरोप पनि लगाए। साथै, रास्वपाले प्रदेश संरचना र संविधानप्रति नकारात्मक धारणा अघि सारेको आरोप लगाउँदै त्यसले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गरेको दाबी गरे।
उनले कार्यकर्तालाई वर्तमान राजनीतिक अवस्थाप्रति सचेत रहँदै कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन आह्वान गरे। लोकतान्त्रिक अधिकार, संविधान र जनताको हितको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस