काठमाडौं / लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं बाट खटि गएको विशेष टोलीले मकवानपुरको हेटौंडाबाट करिब ४ किलो ४२० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार विशेष सूचनाका आधारमा बिहीबार दिउँसो करिब २ बजे हेटौंडा उपमहानगरपालिका–४ स्थित शीतलचोक क्षेत्रमा गरिएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्। लुकाइ छिपाइ भारत तर्फ लैजादै गरेको सूचनाको आाधारमा ब्युरो टोली उक्त सामग्री सहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानी निवासी ४० वर्षीय राजकुमार तितुङ रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट प्लास्टिकसहित करिब ४ किलो ४२० ग्राम अफिम बरामद गरिएको छ। साथै, राजकुमार लामाको साथबाट एउटा निलो रङको रेड्मी मोबाइल र राजकुमार तितुङको साथबाट एउटा निलो रङको आइटेल मोबाइल पनि प्रहरीले बरामद गरेको जनाएको छ।

बरामद गरिएको लागूऔषध, मोबाइल तथा अन्य प्रमाणका आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। प्रहरीले लागूऔषधको स्रोत, ओसारपसारको सञ्जाल तथा यसमा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस