logo

२०८१ फाल्गुन ७ बुधबार

logo
  • बुधबार, ७ फाल्गुन २०८१
  • कोशी प्रदेशमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

    कोशी प्रदेशमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

    336
    Shares
    कोशी प्रदेशमा एचपिभी खोपको सम्पूर्ण तयारी पूरा

    विराटनगर । कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।

    राष्ट्रिय खोप कार्यक्रमअनुसार एचपिभी खोप अभियान सञ्चालन गरिने प्रदेश खोप समन्वय समितिको सचिवालयले जनाएको छ । दश वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई मात्र लगाइने यो खोप कोशी प्रदेशमा दुई लाख २० हजार पाँच सय ८४ जनालाई लगाउने लक्ष्य राखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका सहजकर्ता भरत भण्डारीले जानकारी दिए ।

    उक्त उमेर समूहका किशोरीहरू प्रायः विद्यालयमा कक्षा ७ देखि १० मा अध्ययनरत हुन्छन् र विद्यालय बाहिर रहेका सो उमेर समूहलाई खोप नछुट्ने उद्देश्यले निर्देशनालयले थप खोप केन्द्रको तयारी गरेको सहजकर्ता भण्डारीले बताए । उनका अनुसार विद्यालय बाहिर कोशी प्रदेशमा ४५ हजार तीन सय ३४ किशोरी रहेका छन् ।

    पाठेघरको घरमुखको क्यान्सरबाट मुक्त गराउन यो अभियान सञ्चालनमा ल्याएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

    “महिलामा पाठेघरको घरमुखको क्यान्सरको जोखिम अत्याधिक हुन्छ, क्यान्सर भएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न खोप अभियान सञ्चालन गरिएकाले सबैलाई खोप लगाउन अनुरोध गर्दछौँ”, उनले भने ।

    स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा राधिका थपलियाले यो खोपसँगै महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने जोखिम नियन्त्रणमा लिन सकिने धारणा राखे ।

    खोप लगाउँदा कुनै पनि नकारात्मक असर नपर्ने भएकाले उनले ढुक्कसँग लगाउन सबैलाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend