काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिएका छन् ।
आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, “हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व सङ्कटमा पर्नेछ । देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ । आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीतिक नगरौँ ।”
केसीले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताएका छन् । जनताले सोचेअनुरुपको समृद्धि हुन नसकेको बताउँदै उनले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिए ।
“अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो ? खेतीयोग्य जग्गामा घर बनेका छन् । करोडौँ खर्च गरेर विदेश गएका छन् । घरहरु खाली छन् । यसको समस्या कसरी समाधान हुन्छ ?” उनले प्रश्न गरे ।
सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उनले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिए । उनले भने, “लोकतन्त्र तथा गणतन्त्रका लागि लड्यौँ । तर जनतालाई त्यसपछि के के दियौ त ? त्यही महँगी होइन ?”