मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

इलामका ४५६ परिवार बेसारखेतीमा, तालिमसँगै अनुदान पाएपछि सहज

इलामका ४५६ परिवार बेसारखेतीमा, तालिमसँगै अनुदान पाएपछि सहज

इलाम । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् ।

सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसारखेतीमा अकर्षित भएका हुन् ।

बाँदरले दुःख दिएर खेती गर्न मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छन् । “एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी फल्यो । बाँदरले दुःख नदिने रहेछ । बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ”, गुरुङले भनिन्, “४० केजी एक हजार छ सयका दरले बिक्री भयो ।” पहिले–पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनको भनाइ छ ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका छन् । मनग्य उत्पादन भएपछि उत्साहित उनीहरुले खेती विस्तार गर्ने योजना सुनाए ।

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर संकलन केन्द्र तोकेको छ । त्यहाँबाट ३० रुपैयाँ प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार गरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए । ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारी नै गर्दै आएको छ । “धेरैले सहकारी संस्थाको कार्यालयमा आएर समेत लैजान्छन्”, उनले भने, “गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend