सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

सुनौलो नेपालको आधिकारिक युट्युव च्यानल मिलियन क्लबमा

सुनौलो नेपालको आधिकारिक युट्युव च्यानल मिलियन क्लबमा

काठमाडौं । सुनौलो नेपाल अनलाइन प्रा.लिद्वारा सञ्चालित युट्युव च्यानल ‘सुनौलो नेपाल टीभी’ मिलियन क्लबमा प्रवेश गरेको छ । सुनौलो नेपालको आधिकारिक युट्युव च्यानल सञ्चालनमा आएको करिब ८ वर्षकै छोटो अवधिमा मिलियन क्लबमा प्रवेश गरेको हो ।

८ जुलाई २०१६ अर्थात २०७३ साल असार २४ गते औपचारिक रुपमा युट्युवमा दर्ता भएर यात्रा अघि बढाइएको सुनौलो नेपालको आधिकारिक युट्युव च्यानल ‘सुनौलो नेपाल टीभी’ मिलियन क्लबमा प्रवेश गर्ने न्युज च्यानलसहितको अनलाइन पोर्टलहरु मध्ये सम्भवतः पहिलो बन्न सफल भएको हो ।

नेपालमा डिजिटल मिडियाको दरिलो उपस्थिति नभएको बेलामा जोखिम मोलेर नयाँ सोच र भिजनका साथ आरम्भ भएको सुनौलो नेपाल छोटो समयमै मिलियन क्लबमा प्रवेश गर्दा सुनौलो नेपाल परिवार हर्षित छौं, आभारी छौँ  ।

सयमसंगै संचारमाध्यममा आएको आमूल परिवर्तनले बिगतमा छापामा सीमित अक्षरहरू अब स्क्रिनमा जीवन्त दृश्य बनेर देखिन थालेको पत्रकारिता अब केवल कलम र कागजको सीमा भित्र मात्र बाँधिएको छैन, यो त प्रविधिको सहयात्री बनेर सामाजिक सञ्जालका गल्लीहरूमा, वेबसाइटका पानाहरूमा र एप्लिकेसनमार्फत मोबाइलका स्क्रिनहरूमा सजीव बन्न थालेका छन्।

आजको डिजिटल युगको प्रक्षेपण गरेर त्यतिबेला सुरु भएको हाम्रो सुनौलो यात्रामा मिलियन सदस्य पुग्नु तपाई दर्शक श्रोताहरुले हामीप्रति गर्नुभएको अगाध माया, विश्वास र भरोसा हो भन्ने हामीले बुझेका छौं। नेपालमा सञ्चार माध्यमले विश्वसनीय समाचार पोर्टलसहित सायदै यो सफलता प्राप्त गर्न सकेका छन् । त्यसको पहिलो हिस्सा हामी बन्न पाउँदा अत्यन्तै खुसी छौँ। हाम्रो अधिकारिक युट्युब च्यानल मिलियन क्लबमा प्रवेश गराएर तपाईहरुले हामीलाई थप जिम्मेवार बन्न अझै परिमार्जित र परिस्कृत बन्न समेत हौसला दिनुभएको छ।

८ वर्ष अघि अभिनेत्री वर्षा राउतसँगको तीन मिनेट ५० सेकेन्डको कुराकानीबाट मल्टिमिडियाको डिजिटल यात्रा आरम्भ भएको  त्यो अन्तर्वार्ता केवल एक अन्तर्वार्ता मात्र थिएन, यो हाम्रो संस्थागत जीवनमा डिजिटल युगको शुभारम्भ पनि थियो ।

त्यसपछिको यात्रामा सुनौलो नेपालले हजारौं सामाग्रीहरु प्रसारण गरेको छ । जसले थुप्रै दर्शकहरूलाई सही र स्पस्ट सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेको छ । यो अनवरत यात्रामा सुनौलो नेपालले आजसम्म आठ हजार ७० सामग्रीहरू प्रकाशन गरिसकेको छ ।

अहिले सूचनाको संसारमा सत्य र अफवाहको बादल मडारिएको अवस्थामा सुनौलो नेपाल अफवाहलाई तोड्दै सत्य सूचना प्रकाशन गर्न कटिबद्ध छ र रहिरहने छ ।

सुनौलो नेपाल सत्य सूचनाको एउटा मानक भएर राजनीतिक, आर्थिक र सामाजिक विषयमा आवाजविहीनहरूको प्रतिनिधि बनिरहनेछ। डिजिटल मिडिया निरन्तर प्रविधि र प्रवृत्तिहरूसँग संघर्ष गरिरहेको बेला यो उपलब्धि सामान्य होइन । सकारात्मक सोच, सिर्जनात्मक सामग्री प्रस्तुत गर्दै धेरैको व्यक्तिगत र व्यावसायिक यात्रामा हामी सहयोगी बन्न सफल भयौं ।

आजको मिलियन क्लब हाम्रो अन्तिम लक्ष्य होइन, अनन्त सम्भावनाहरू हाम्रा सामु छन् र हाम्रो अविचलित यात्रा आगामी दिनमा अझै सृजनशील भएर निरन्तर अघि बढ्नेछन्।

हामीलाई आज यो ऐतिहासिक सफलताको शिखरमा पुर्याउन सुरुवातदेखि आजसम्म संलग्न कर्मचारीहरु, हेर्ने, सुन्ने तपाई दर्शक श्रोताहरु, अन्तरवार्ता दिने हाम्रा अतिथिहरु, व्यवसायिक साझेदारको सहयोग र मायाको लागि हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरुको साथले हाम्रो यो यात्रा अविराम रहिरहने छ । धन्यवाद !

मोहराज पौडेल

अध्यक्ष , सुनौलो नेपाल अनलाईन प्रा.लि.

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend