
कोरोना महामारीपछि नेपाली पोल्ट्री उद्योग तङग्रिन सकेको छैन् । कुखुराको मासुको माग घटेपछि यसको असर पोल्ट्री उद्योगमा देखिएको छ । उद्योगीहरुका अनुसार यसबीचमा कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २ सय ३६ ह्याचरी उद्योग बन्द भएका छन ।
कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएको सम्बद्ध उद्योगीले बताएका छन् । यसबाट सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग थप धराशयी बन्न पुगेको छ । सरकारले २०७७ चैतमा पोल्ट्री मुलुकको आत्मनिर्भर उद्योग भनेर घोषणा गरेको थियो ।
कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको व्यवसाय जोखिममा पुगेको पोल्ट्री व्यवसायीले बताउदै आएका छन् ।
विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ ।
लामो समयपछि अहिले ब्रोइलर चल्ला प्रतिगोटा ७० देखि ७५ रुपैयाँमा बिक्री हुने गरेको छ । लेयर्स चल्ला एक सय ३० रुपैयाँ देखि एक सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
नेपाल पोल्ट्री महासंघका अनुसार कोभिडअघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो संख्या एक सय २० मा झरेको छ ।
यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छ वटामा झरेको छ । एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख रुपैयाँ उत्पादन हुने गरेको छ । यस्तै लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।
ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँ सम्म पर्न जान्छ । लेयर्सको मूल्य एक सय २० रुपैयाँ देखि एक सय २५ रुपैयाँ पर्छ । यसले अब नेपालको पोल्ट्री उद्योग धरासयी बन्दै गरेको प्रष्ट भएको छ ।
लामो समय चल्लाले मूल्य नपाउँदा अधिकांश ह्याचरी बन्द भए । अहिले बैंकको ऋण थपेर धानिएको उद्योग पनि अब थप अघि बढ्न नसक्ने अवस्थामा पुगेको छ । चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका छन् ।
ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन र यसबाट एउटै ह्याचरीको करोडौँ नोक्सान हुन्छ । एउटा ह्याचरी उद्योग सञ्चालन गर्न कम्तीमा ४० करोड रुपैयाँभन्दा बढी लगानी हुने गरेको उद्योगीको भनाई छ । चार–पाँच बिघा जमिन कम्तीमा आवश्यक पर्ने भन्दै उनले जग्गाको मूल्य बढ्दै जाँदा लागत मूल्यसमेत बढेको छ ।
ह्याचरी उद्योगले अधिकांश प्यारेन्ट (माउ) विदेशबाट ल्याउने गर्छन् । एउटा चल्लाको मूल्य सात सय रुपैयाँ पर्न आउँछ । देशभर थोरै ब्रोइलर कुखुरा पाल्ने किसान धेरै छन् । पछिल्लो समय खपत घटेसँगै मासुले मूल्य नपाउँदा धेरै विस्थापित भएका हुन ।
कुखुराको मासुका साथै अण्डामा आत्मनिर्भर आफै संकटमा छ । जसले गर्दा उद्योगीले व्यवसाय बन्द गर्नुपरेको छ भने किसानलाई पनि ठूलो असर गरिरहेको छ । उद्योग बन्द हुँदा बैंकको ऋण असूलीमा समस्या पर्छ ।
त्यसैले मुलुकको ठूलो रोजगारी सिर्जना गरेको, किसानहरुको प्रत्यक्ष संलग्नता रहेको र कूल गाहस्र्थ उत्पादन (जिडिपी) मा राम्रो योगदान गरेको उद्योगलाई सरकारले सहुलियत दिएर बचाउनु पर्ने अवस्था आएको छ ।
मुलुकमा आर्थिक गतिविधि सुस्त हुँदा र सरकारले पनि गति दिन नसक्दा अहिले मुलुकमा निराशाको व्यापार गर्नेको संख्या बढ्दै गएको छ । निराशाको व्यापार गर्नेहरुलाई नस्तेज बनाउन र केही हुँदै छ भन्ने सन्देश दिन राज्यको तर्फबाट पोल्ट्री व्यवसायलाई संरक्षण गर्न आवश्यक छ । सन् २००८ मा अमेरिकाको ल्याह्मन ब्रदर बैंक टाट पल्टिएपछि त्यसलाई उद्धार गर्न सरकारले ७ खर्ब डलर लगानी गरेर बचाएको थियो ।
त्यस्तै नेपाली पोल्ट्री उद्योग बचाउन सरकारले कर्जा, औषधी र दानालगायतमा सहुलियत दिए फेरी तग्रिने छ । यता व्यवसायीले पनि सरकारको मुख मात्र ताक्नु भन्दा पनि उत्पादन लागत कम गरेर प्रतिस्पर्धी बन्नतर्फ ध्यान दिनुपर्छ अनी मात्र उद्योग दीगो हुनसक्छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend