
काठमाडौं । भाटभटेनी सुपरमार्केटले गलत आरोपमा मुछिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको भाटभटेनीले जनाएको हो ।
प्रतिनिधिसभाको बैठकमा सिन्धुपाल्चोकमा समातिएको भेपसँग जोडेर भाटभटेनीको नाम उल्लेख गरिएको भन्दै गलत आरोपमा मुछ्दा कर्पोरेट संस्थाको गरिमामा गम्भीर असर पर्ने भाटभटेनीले जनाएको छ । साथै, यस्ता गलत तथ्यमा आरोपित नगर्न पनि अनुरोध गरेको छ ।
भाटभटेनीले विज्ञप्तिमा भनेको छ, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’
त्यस्तै, कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाकापछि नलाग्न पनि भाटभटेनीले अपील गरेको छ ।
‘मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति :
मिति–२०८१ चैत ७
प्रेस विज्ञप्ति
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गर्नुभएको धारणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ ।
तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । साथै उहाँहरूका धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं ।
तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।
मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।
भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।
अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ ।
एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि अपील गर्दछौँ ।
साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ । अन्त्यमा, फेरि पनि पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिनुहुन राज्यका निकायसँग अनुरोध पनि गर्दछु ।
साथै कपोलकल्पितरुपमा व्यक्त भएका धारणामा आधारित समाचारले पार्ने प्रभावका बारेमा स्वयम् पत्रकारज्यू पनि जानकार हुनुहुने भएकाले त्यस्ता आधारहीन विषयलाई प्राथमिकतामा राखिदिनुहुने छैन भन्ने विश्सास रहेको छ ।
मिनबहादुर गुरुङ
अध्यक्ष, भाटभटेनी सुपरमार्केट
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend