
इलाम । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचेर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् ।
भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन् । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन् ।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन् । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उनले भनिन् ।
बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका १७० रुपैयाँ बिक्री जनाउँदै उनले अहिले भने ५० रुपैयाँमा बिक्री हुने बताइन् ।
उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन् । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छिन् ।
भण्डारीले मासिक ४० हजार रुपैयाँ बढी लौकाबाट आम्दानी हुने गरेको बताइन् । उनले भनिन्, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण १५ लाख रुपैयाँ तिरिसक्न लागेको उनको भनाइ छ ।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन् । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि उनले बजार लगेर बिक्री गर्छन् ।
“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भने ।
उनका श्रीमान् भुपूप्रहरी हुन् । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उनले भने ।
भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन् । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिए ।
दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन् । कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घरमा भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन् ।
आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन् । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ ।
एउटै लौकाको पाँच हजार
भण्डारीले एउटै लौकाबाट पाँच रुपैयाँदेखि सात हजार रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिइन् । लौका तरकारीका रूपमा बेच्दा दुई सय रुपैयाँसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन् । ५० रुपैयाँको तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन् ।
“ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भने ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend