बुधबार, चैत्र १३ २०८१

बुधबार, चैत्र १३ २०८१

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, मुख्यतः सात काममा केन्द्रित रहने प्रतिबद्धता

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा, मुख्यतः सात काममा केन्द्रित रहने प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बीमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए ।

उनले बीमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा बिमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा बोर्डको स्थायी सङ्गठन संरचना स्वीकृतिका लागि पहल गर्ने, स्वास्थ्य बीमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरी बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य बीमा सुधार गर्न अध्यक्षको हैसियतले मुख्यतः सात वटा कामहरुमा आफू केन्द्रित रहने उनले बताए । नीतिगत सुधार, प्रविधि प्रणालीमा सुधार, आर्थिक व्यवस्थापन, प्रशासनिक क्षमताको विकास, जनचेतना वृद्धि, सहकार्य र समन्वय र अध्ययन अनुसन्धान गर्ने उनले बताए ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।

बीमामा आधारित भएर सरकारले स्वास्थ्यमा सबैको पहुँच पुर्याएर नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ । बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ ।

प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend