दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम बन्ने गरेको छ । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन् ।
पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई र कृषि विज्ञको ढोका नढकढक्याई सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकेकी हुन् ।
त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर उनले व्यावसायिक खेती सुरु गरेकी थिइन् । उनले भनिन्, ‘मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ ।’
सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन् । बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिएपछि त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न उनी सफल भइन् । यस वर्ष भने उनको बगैँचाका अधिकांश बोट फलले लटरम्म छन् । उत्पादन बढेकाले यसपालि आम्दानी २ लाख रुपैयाँसम्म पुग्ने अपेक्षा उनको छ । उनले खुसी हुँदै भनिन्, ‘गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ ।’
अहिले सुलोचनाले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छन् । झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकाले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ ।
उनको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेकाले त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ ।
प्रतिक्रिया दिनुहोस