२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै, मासिक कमाउँछन् ५० हजारसम्म

बिहिवार , चैत्र १३, २०८१

महोत्तरी । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् ।

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउँछन् । “अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ”, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उनले भने, “मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।”

धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थालेको एक वर्षमात्र भयो । यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको तीन लाख रुपैयाँभन्दा बढी ऋण तिरेको उनले सुनाए । “गर्नेलाई त यही ठाउँ रहेछ नि १ के गर्नु पहिले विदेश गएर के के न गरौँला भन्ने लाग्यो, तीनपटक गरेर १२ वर्ष मलेसिया र कत्तारमा बिताइयो । ऋणको भारी बोकियो”, साबिर भन्छन्, “उता हण्डरठक्कर खाएपछि, ठगिएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो । अहिले यहाँको मेहनतबाट प्राप्त उपलब्धिले पहिले नै किन बुद्धि आएन छ भन्ने सोच्छु । राम्रै भइरहेको छ ।” उखुको जुसको व्यापारबाट महिनामा करिब ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनको भनाइ छ ।

बर्दिबास चोकबजार क्षेत्रमा हाल साबिरजस्ता १५÷१६ जनाले यस्तै व्यापर गर्न थालेका छन् । जसमा विदेश गएर फर्किएकाहरू नै बढी छन् । तीमध्येका एक हन् धनुषाको मिथिला नगरपालिकाका पञ्चलाल साह । बर्दिबासचोकमा जुस बेच्ने गरेका उनले भने, “दलालको पछि लागेर विदेश गइयो, ऋणले थिच्यो, उता भनेको काम पाइएन । यहाँ फर्किएपछि यही काम गरिरहेको छु । अबभने आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन ।”

पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने साहले छ जनाको परिवारको लालनपालनसहित मासिक ३० हजार रुपैयाँसम्म बचाइने गरेको बताए । आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उनको भनाइ छ ।

गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् । “छन् त हाम्रै ईश्वरपुर र लालबन्दीमा पनि जुसको राम्रो व्यापार छ तर आफूलाई चिनेको क्षेत्रमा भन्दा अलि पर काम गर्दा खुलेर गर्न पाइँदो रहेछ”, सर्लाहीको ईश्वरपुर नगरपालिकाको श्रीनगरका २१ वर्षीय विक्कीकुमार साह भन्छन्, “आफ्नो ठाउँमा सघाउनेभन्दा टिप्पणी गर्ने बढी हुन्छन्, त्यसैले घरबाट १५÷१६ किलोमिटर यता बर्दिबास रोजेको हुँ ।”

विदेश जान राहदानी ठिक्क पारिसकेका उनी कसैले ऋण नपत्याएपछि यस काममा लागेको र हाल यसैमा सन्तुष्ट रहेको सुनाउँछन् । “मलाई कसैले ऋण नपत्याएर ठिकै भएछ, पत्याएको भए त खै कुन देशमा कस्तो अवस्थामा हुन्थे, अचेल आफ्नै देशमा रमाइरहेको छु । ऋणको भारले थिचिनु परेको छैन, आम्दानी पनि ठिकै छ”, साहले खुसी व्यक्त गरे ।

औरही बजारमा व्यापार गर्ने भंगाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी छन् । “उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ । गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ । यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुसी साट्न पाउँला निकै रमाइलो लाग्छ”, उनले भने ।

ठेला र मोटर जडानमा दुई लाख रुपैयाँ जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ । यहाँ एक हजार रुपैयाँमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ । प्रतिक्विन्टल १०० रुपैयाँ उखु छिल्न खर्च हुने गरेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ (उखु) खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ ।

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट