काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन । उनले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौति र आवश्यकता भएको बताए। उनले आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडी बढाएको दाबी गरे। उनले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा समेत राखे।
उनले भने, “प्रदेशले स्किल म्यानपावर डेभलप गर्नको लागि सीटीइभीटीको कन्सेप्टबाट २६ सय बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ । त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता गरेको छु । अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ । धेरै आयआर्जन सकिन्छ । व्यवसाय गर्न सकिन्छ । अहिलेको इन्टरनेटको जमाना छ । युवा पिढीलाई नेपालमै आय आर्जन गर्नको लागि व्यवस्था मिलाउनु चुनौती छ ।”
मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गरे । उनले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको उपलब्धि सम्बन्धि धारणा पनि प्रस्तुत गरे ।
प्रतिक्रिया दिनुहोस