काठमाडौं । लामो समयदेखि शिक्षा विधेयक छिटो ल्याउन माग गर्दै आन्दोलनमा रहेका शिक्षकहरूको मागलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जोड दिएको छ।
पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले हाल काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयमा संसदीय दललाई सशक्त ढंगले संसदमा प्रस्तुत हुन निर्देशन दिएको हो।
बैठकले वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसदको अधिवेशनलाई लक्ष्य गर्दै शिक्षकहरूको माग सम्बोधनका लागि प्रभावकारी पहल गर्न संसदीय दललाई औपचारिक रुपमा जिम्मेवारी दिएको हो। पार्टीले शिक्षाको गुणस्तर, शिक्षकहरूको हक–अधिकार तथा दीर्घकालीन समाधानका लागि छिटो भन्दा छिटो शिक्षा विधेयक संसदमा ल्याउनुपर्ने आवश्यकतालाई पनि जोड दिएको छ।
रास्वपाले शिक्षकहरूको आन्दोलनलाई संवेदनशील रूपमा बुझ्नुपर्ने र राज्यले उनीहरूको मागप्रति सकारात्मक रुपमा प्रतिक्रिया दिनुपर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस