शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा, वार्षिक १० लाख बढी आम्दानी

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा, वार्षिक १० लाख बढी आम्दानी

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने भएपछि युवाहरु पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।

दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छन् । जनकले पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका हुन् ।

किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुरु गरेको बताउँछन् । उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा १० लाख रुपैयाँ आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । “अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ, भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ ।

फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । दुई बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउँछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ ।

घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउँछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण दुई लाख बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनीहरु आशावादी छन् । उनीहरूले एउटा खसीलाई ५४ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउँछन् । सुरुमा आठवटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ ।

पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको सङ्ख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् ।

विशेषगरी गाउँघरमा किसानले घरमा दुई–चारवटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा दुई–चार रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend