काठमाडौं । शिक्षा मन्त्रीबाट सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ शिक्षा मन्त्रीमा एकाएक अन्जान शाक्यको नाम चर्चामा आयो। केही मिडिया र सामाजिक सञ्जालमा सोमबार साँझ नै शाक्यको नाम नयाँ शिक्षा मन्त्रीको रुपमा अगाडि आयो । नेकपा (एमाले) कै कतिपय पदाधिकारीले शाक्य अब शिक्षा मन्त्री हुने चर्चा गरेका थिए। यद्यपी, यो चर्चालाई उनले ‘झुठो प्रचार’ को संज्ञा दिँदै भ्रमको पछाडि नलाग्न अनुरोध गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएकी अञ्जान शाक्यले शिक्षा मन्त्रालयप्रति आफ्नो रूचि र विज्ञता दुवै नभएको पनि बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘केही सञ्चारमाध्ययममा म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर डाक्टर अन्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो । यो विषयमा मैले नबोल्दा वा कुनै प्रतिक्रिया नदिँदा पनि हुने हो । तर, मेरा शुभचिन्तक, मसँग सरोकार राख्ने र आफन्तहरुमा समेत यहि भ्रामक र कपोलकल्पित प्रचारका कारण भ्रम सिर्जना होला भनी सामान्य केही जानकारी गराउने प्रयास गरेको छु ।’
यसअघि इसराइलका लागि नेपाली राजदूतको समेत जिम्मेवारी सम्हालिसकेकी उनी हालै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘तपाईंहरुलाई जानकारी नै छ । म भर्खरै मात्र अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएर आएको छु । यसले केही हदसम्म भए पनि नेपालको इज्जत र प्रतिष्ठा अन्तराष्ट्रियस्तरसम्म लैजान र उच्चो बनाउन केही भूमिका खेलेको होला भन्ने विश्वास मैले लिएको छु । त्यसैले अहिले मेरो पहिलो कर्तव्य उक्त संस्थामा गरेका प्रतिबद्धता पूरा गरी नेपालको प्रतिष्ठा विश्व जगतमा थप उच्च पार्ने रहेको अवगत गराउन चाहन्छु । म अहिले राष्ट्रिय सभाको विज्ञ सदस्यको हैसियतले पनि मैले अहिले ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्नुपर्ने दायित्व छ । त्यसैले अहिले तुरुन्तै मन्त्री भएर अहिलेका यी आफ्ना कर्तव्यबाट विमुख हुनुहुन्न भन्नेमा म प्रतिबद्ध छु । पूर्वराजदूतको समेत जिम्मेवारी सम्हालिसकेको अनुभव मात्रै होइन आफ्नो कर्तव्य र इमान्दारिताका लागि विश्व समुदायबाट सम्मानित भएर अन्तराष्ट्रिय पुरस्कारहरु समेत पाइसकेको व्यक्ति हुँ भन्ने जानकारी पनि यहाँ स्मरण गराउँन चाहन्छु ।’
उनले केही मानिसले आफूप्रति पूर्वाग्रह राखेर अहिलेको शिक्षा क्षेत्रमा देखिएका समस्यामा मुछ्ने प्रयास गरेको शंका समेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस