२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रधानमन्त्री ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेका छन् : नेता खनाल

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए । उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताए। उनले शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए। उनले शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो रु भन्दै प्रश्न गरे । उनले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाइ लाख शिक्षकहरु अहिले आन्दोलनमा छन् । सडकमा छन् । तर, ती शिक्षकहरुको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन् । अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । उनी शिक्षकहरुको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । हामीले शिक्षामा प्रगतिशिल परिवर्तन गर्छौं भनेका थियौँ । कुरा कहाँ गयो ।’

पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको पनि उल्लेख गरे। केही दिनअघिसम्म काँग्रेसको पिठ्यँुमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए। उनले काँग्रेसको बुई चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको पनि बताए। नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको लोभमा सरकारमा सहभागी भएको भन्दै यसबारेमा समीक्षा जरुरी रहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘हामीले जबसम्म एउटा लक्ष्य प्राप्त गर्ने संकल्पवद्ध रुपमा संगठन निर्माण गर्न सक्दैनौँ, तबसम्म क्रान्ति हुन सक्दैन । अहिले संघर्ष अनिवार्य छ । हामीले नगर्दा पनि संघर्ष शुरु भइसकेको छ । शिक्षक, विभिन्न आन्दोलनहरु भइरहेका छन् यसलाई नेतृत्व गर्ने नेता देशमा छैन । कम्युनिष्ट आन्दोलन कस्तो भयो ? नेकपा एमाले भन्ने सबैभन्दा ठूलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ । तर, त्यो घमण्डको कुरा नेपाली काँग्रेसको पिठ्युँमा बसेर बोल्छ । दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बौल्छ । जो सुधारवाद बाहेक केही पनि जान्दैन । यो घोर दक्षिणपन्थी कुरा हो । एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म काँग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन् । अनि अहिले बाहिर आएर अलिकति कुराहरु गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ । अवसरवाद पो हो की ? हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो रु सबैले मूल्यांकन गरौँ त । यी सबैको समीक्षा गर्नुपर्छ । ’

पूर्वप्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकताबद्ध हुने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट