काठमाडौं । बुधबारबाट एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यभार सम्हालेका गोविन्द घिमिरेसंग तीन दशक भन्दा लामो बैंकिङ अनुभव छ । आन्तरिक प्रक्रियाबाटै सीईओ नियुक्त भएका घिमिरे सन् २००९ देखिनै एनएमबी बैंकमा आबद्ध छन् ।
यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिरहेका घिमिरे बढुवा भई सीईओको जिम्मेवारीमा पुगेका हुन् । उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।
बैंकका व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा घिमिरेको विशेष योगदान रहँदै आएको छ । उनले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन् । उनको बैंकिङ अनुभवले एनएमबी बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
जे उद्देश्य एनएमबीले लिइरहेको छ, त्यो प्राप्ति गर्नेमा आफूहरु विश्वस्त रहेको घिमिरे बताउँछन् । एनएमबी बैंकले दिगो बैंकिङलाई मूल उद्देश्यका रूपमा लिएको र इनर्जी फाइनान्समा जोड रहने घिमिरेले बताएका छन् । त्यस्तै डिजिटलाइजेसनका माध्यमबाट ग्राहकलाई सुविधा बढाउनेतिर केन्द्रित रही सेयर होल्डरलाई पनि न्यूनतम प्रतिफल दिने उनको भनाइ छ ।
तत्कालीन नेपाल बंगलादेश बैंकमा करिब १४ वर्ष बिताएका घिमिरेले तीन दशकको अवधिमा बैंकिङ क्षेत्रलाई गहन रूपमा बुझ्ने अवसर पाएको बताउँछन्। सोही बैंकमा कार्यरत भएको कारण सबै कर्मचारीको क्षमता थाहा हुने, विभिन्न विभागको कार्यशैली, बैंकका गतिविधिबारे पहिले नै जानकार हुने भएकाले एकअर्का विभागबीच समन्वय गर्न/गराउन सहज हुने अपेक्षा आफूले राखेको घिमिरे बताउँछन् । उनले भने, ‘बैंक यहाँसम्म आइपुग्नुमा आन्तरिक टिमको ठूलो योगदान छ । यही टिमलाई अझ सशक्त बनाउन र संस्थागत सुशासन कायम राख्न जिम्मेवार भएर लाग्ने छु ।’
जे उद्देश्य एनएमबीले लिइरहेको छ, त्यो प्राप्ति गर्नेमा आफूहरु विश्वस्त रहेको घिमिरे बताउँछन् । एनएमबी बैंकले दिगो बैंकिङलाई मूल उद्देश्यका रूपमा लिएको र इनर्जी फाइनान्समा जोड रहने घिमिरेले बताएका छन् । त्यस्तै डिजिटलाइजेसनका माध्यमबाट ग्राहकलाई सुविधा बढाउनेतिर केन्द्रित रही सेयर होल्डरलाई पनि न्यूनतम प्रतिफल दिने उनको भनाइ छ ।
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा विशेषज्ञतासहितको व्यवसाय अध्ययनमा स्नातकोत्तर तथा कम्पनी कानुन विषयमा स्नातक उपाधि हासिल गरेका छन् । रणनीतिक दृष्टिकोण, दृढ निर्णय क्षमता, तथा नतिजा केन्द्रित कार्यशैलीका लागि परिचित घिमिरे प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकमा समृद्ध अनुभव र दूरदृष्टि लिएर अगाडि बढेका छन् ।
प्रतिक्रिया दिनुहोस