२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा राष्ट्रपतिको जोड

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ ।

राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सन्देशमा उनले, 'भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरुरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु', भनेका छन् ।

नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले सन्देशमा पुनर्निर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधि प्रयोग गरिएकामा खुसी व्यक्त गरेका छन्। उनले पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।

सन्देशमा राष्ट्रपतिले प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने हुँदा भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवं पुनःस्थापनालगायत कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट