काठमाडौं । नेकपा एमालेकी सांसद् बिजुला रायमाझीले संविधान सम्मत र राज्यको स्रोतले भ्याउनेसम्म सरकार र आन्दोलनरत शिक्षकहरु अधिकतम लचिलो बनेर समस्या समाधान गर्न आग्रह गरेकी छिन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले विद्यालय शिक्षा ऐन छिटो ल्याउने कुरा विश्वस्त पार्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सरकारको नेतृत्वले पनि शिक्षाको मर्म भुलेको छैन र भुल्नु हुँदैन । तसर्थ सरकारले विद्यालय शिक्षा ऐन छिटो ल्याउने कुरा विश्वस्त पार्दै संविधान सम्मत र राज्यको स्रोतले भ्याउने हदसम्म दुबै पक्ष अधिकतम लचिलो बनेर आजै वार्ताबाट आन्दोलन स्थगित गरी विद्यालय फर्कने वातावरण मिलाउन जोडदार माग गर्दछु ।’
उनले यो कार्यमा प्रधानमन्त्री र सभामुखलाई अभिभावकीय भूमिका खेल्न पनि आग्रह गरिन् । हरेक आन्दोलनको सुरुवात जति सजिलो छ त्यति सहज अन्त्य नहुने स्मरण गराउँदै सांसद् रायमाझीले २८ दिनदेखि जारी शिक्षक आन्दोलनको सरकारले समाधान खोज्नुपर्ने बताइन् । ‘हरेक आन्दोलनको उठान गर्न जति सजिलो छ, बैठान गर्न त्यति सहज हुँदैन तर राज्यले समयमा समाधान खोज्नै पर्दछ । त्यो राज्यको दायित्व हो । २८ सालको शिक्षा ऐन बदल्न २८ दिने आन्दोलनको इतिहास नै बनोस् तर शिक्षक, अभिभावक र आम जनमानसको मनोभावनाको कदर गर्दै सम्माननीय प्रधानमन्त्री ज्यू र सम्माननिय सभामुखज्यूको अभिभावकीय निर्देशनको समेत विनम्र अनुरोध गर्दछु ।’ - उनले भनिन् ।
उनले शिक्षक आन्दोलनलाई खुलेआम भड्काउने र उकास्ने काम भैरहेको आरोप लगाउँदै यो दुःखको कुरा भएको टिप्पणी गरिन् ।
प्रतिक्रिया दिनुहोस