काठमाडौं । सभामुख देवराज घिमिरेले लेखापढी क्षेत्रलाई प्रभावकारी बनाउन चुनौतीहरू देखिएको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बाएका हुन् ।
सभामुख घिमिरेले मुलुकमा धेरै खालका समस्याहरू देखिएको र समस्या समाधानका लागि चुनौतीहरू पनि थपिएको बताए । उनले चुनौतीहरूभित्र पछिल्लो समय विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू लेखापढीसँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले अझै पनि मुलुकमा ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि नसक्ने अवस्था रहेको जिकिर गरे ।
उनले विश्व एआईको अवस्थामा पुग्दा लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानूनी प्रवन्ध, व्यवहारिक उतार्ने र जनताका कामहरूलाई गाँसेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषय मुख्य चुनौततिको रूपमा रहेको धारणा राखे ।
उनले भने, “हाम्रो देशमा धेरै खालका समस्याहरू छन् । समस्या समाधान गर्ने सन्दर्भमा केही चुनौतिहरू छन् । ती चुनौतिहरूभित्र पक्कै पनि अहिले विकास भइरहेको इलेक्ट्रोनिक डिभाइसबाट गर्ने कामहरू हाम्रो लेखापढीसँग पनि सम्बन्धित छन् । अझै पनि ठूलो सङ्ख्या सामान्य लेखपढ गर्न पनि सक्दैन । अहिलेका इलेक्ट्रोनिक डिभाइसका प्रयोगहरू अहिलेको एआईको अवस्थामा पुग्दाखेरी हामीले अब लेखापढीलाई पनि त्यस ढङ्गबाट लैजानको लागि कानुनी प्रबन्ध कसरी गर्ने, त्यसलाई व्यवहारिक रूपबाट कसरी लैजाने, त्यो सँग जनताका कामहरूलाई गाँसेर हाम्रो कामलाई प्रभावकारी कसरी बनाउने यो कुरा एउटा चुनौतिको रूपमा रहेको छ ।”
सभामुख घिमिरेले लेखापढीको ऐतिहासिकता आजको दिनले कायम गर्नुपर्नेमा जोड दिँदै विभिन्न चुनौतिहरूलाई सामना गर्न अधिवेशनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस