काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए । उनले गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए । सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरुले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ ।
उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानून निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भुमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ । तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागकिरता नागरिकता जस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरुले । मैले बुझेको । हुन त पाइसक्नुभएका साथीहरुले कस्तो अनुभव गर्नुभएको छ आफ्नो ठाउँमा होला ।
तर मैले बुझ्दै गर्दा अनुभव गर्दाखेरी जसले गैरआवासीय नागरिकता लिइसक्नुभएको छ उहाँहरुले त्यसको खासै अनुभव गर्न पाउनुभएको छैन व्यवहारमा । किनभने उदाहारणका लागि गैरआवासीय नागरिकता लिनु हुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुपर्यो भने त्यो नागरिकताले काम गर्दैन, त्यसमा परराष्ट्र मन्त्रालय जाउ, भूमिसुधार मन्त्रालय जाउ भन्छ । अनि कहाँ घुम्ने हो ? एक टुक्रा जग्गा लिन त यति दुःख हुन्छ भने ठूलो उद्योग खोल्न खोज्यो भने के होला हालत ? हामी भन्छौँ गैरआवासीय नेपालीलार्य यहाँ आउनुहोस् उद्योग धन्दा खोल्नुहोस् तर अर्कोतिर समस्या छ ।’
उनले थप भने, सानोतिनो काम गर्न पनि उताबाट यता जाउँ भान्छ यताबाट उता जाउ भन्छ । त्यसकारण यस्ता विषयहरु पनि यहाँ निश्चित रुपमा छलफल हुनेछ । हामीले गैरआवासीय नेपालीहरुलाई लगानीमैत्री वातावरण बनाउनु आवश्यक छ हामीले । लगानीमैत्री कानून बनाउन कुनकुन कहाँ छलफल गर्नुपर्ने हो गरौँ ।’
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानून निर्माण गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस