विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको दुइ दिने लगानी सम्मेलन सम्पन्न भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खरब ५२ अरब १६ करोडको परियोजनामा एमओयु गर्दै लगानी सम्मेलन शुक्रबार सम्पन्न भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताहरु बीच सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि का आठ परियोजनामा ३ अरब, ऊर्जामा तीन परियोजनामा आठ अरब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अरब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अरब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अरब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना एमओयु सम्पन्न भएको छ ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयु भएका हुन्। प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो । सोकेसिङ परियोजनाको अनुमानित लागत एक खरब ७३ अरब ४९ करोडको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए । कार्यक्रममा आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पार्दै प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले लगानी मैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने र यसले लगानीको वातावरण तयार हुने बताए ।

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर बिष्टले सम्मेलन सफल भएको बताए ।

कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ, गैर आवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगाना लगायतले कोशी प्रदेशमा लगानीको सम्भावना राम्रो रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस