काठमाडौं । नेकपा (एमाले) का सांसद् सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको जिकिर गरे। उनले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको जिकिर गरे। उनले माओवादी अध्यक्ष दाहाललाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झुटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीहरूले सुनिरहनुपर्ने हो भन्दै प्रश्न समेत गरे ।
उनले भने, 'आज देशमा सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । दुई वटा ठूला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो सुरुमा २४ महिना र त्यसपछि बाँकी अवधि सरकारको नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ, सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ । तर त्यसयता दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन् । त्यस्ता बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर कहिले सम्म सुनिरहनुपर्ने हो, हामी नेपालीहरूले ।'
उनले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको जिकिर गरे। उनले त्यति बेलामा पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगतलाई देखिएको समेत धारणा राखे । उनले त्यति बेला कुशासनका अनेक रूप प्रकट भएको समेत आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस