काठमाडौं । ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल 'डिम्यान' ले आज प्यानल डिस्कसन कार्यक्रम गर्दैछ ।
बौद्धस्थित हायत रिजेन्सीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा तीनवटा सत्रमा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल गरिनेछ ।
‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल हुनेछ। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दिपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गर्नेछन् ।
यसैगरी, ‘उद्योगमा ऊर्जास् अर्थतन्त्रमा आशा’भन्ने दोस्रो शत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिनेछ । जसमा दामोदर भण्डारी, चन्द्रप्रसाद ढकाल, मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गर्नेछन् ।
यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछिन् ।
कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमलाई नेपालमा समावेशी, तथ्यमा आधारित र युवा केन्द्रित आर्थिक बहसको थालनीका रूपमा हेरिएको छ । कार्यक्रम शंकर ग्रुपको प्रस्तुतिमा टिभीएस मोटर्स, प्रोटोन इभि, जगदम्बा स्टिल्ससहित सौर्य सिमेन्टसंगको सहकार्यमा हुनेछ।

प्रतिक्रिया दिनुहोस