काठमाडौं । डिजिटल मिडिया अलायन्स नेपाल 'डिम्यान'का अध्यक्ष तथा सुनौलो नेपाल अनलाइन प्रालीका सञ्चालक मोहराज पौडेलले डिजिटल मिडिया अब केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभइ विचार, चेतना र परिवर्तनको शक्तिशाली औजार पनि भएको बताएका छन् ।
डिम्यानले आज बौद्धस्थित हायत रिजेन्सीमा गरेको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा' शिर्षकको प्यानल डिस्कसन कार्यक्रमको समापनमा बोल्दै उनले भने, ‘डिजिटल मिडिया अब केवल समाचार सम्प्रेषणको माध्यम होइन । यो विचार, चेतना र परिवर्तनको शक्तिशाली औजार पनि हो भन्ने सन्देश हामीले यो कार्यक्रमबाट दिएका छौँ । यसले डिजिटल मिडियाको भूमिकालाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्नका लागि एउटा बलियो आधार समेत तयार गरेको छ । ’
कार्यक्रमले सूचना, उत्तरदायित्व र परिवर्तनको आवाज अब सँगसँगै अघि बढ्न चाहन्छ भन्ने सन्देश पनि दिएको अध्यक्ष पौडेलको भनाइ छ। ‘आजको यो ऐतिहासिक कार्यक्रम हाम्रो साझा प्रयत्नको एक जीवन्त प्रतिबिम्ब हो, जहाँ सरकार, निजी क्षेत्र, बिभिन्न क्षेत्रका विज्ञहरु, सञ्चारकर्मी लगायत हामी सबै एकै मञ्चमा उभिएका मात्र छैनौँ । यस कार्यक्रम मार्फत सूचना, उत्तरदायित्व र परिवर्तनको आवाज अब सँगसँगै अघि बढ्न चाहन्छ भन्ने सन्देश पनि दिन खोजेका छौँ ।’ उनले भने ।
अध्यक्ष पौडेलले डिजिटल मिडियाको सहि प्रयोगले समाजका कुना–कुनासम्म सूचना पुर्याउने मात्र होइन, जनभावनालाई सरकार र नीति निर्माण तहसम्म पुर्याउने पुलको काम गरेको बताए । तर, यसको प्रयोग जिम्मेवारीका साथ, तथ्यसहित र सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा उनको जोड थियो ।
तीन सत्रमा सञ्चालन भएको प्यानल डिस्कसनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा उपस्थित थिए । त्यस्तै, विशेष अतिथिहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, गृहमन्त्री रमेश लेखकलगायतको उपस्थिती थियो ।
भब्य रुपमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनान्दन मारुले अतिथि वक्ताका रुपमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम समापनको घोषणा गर्दै अध्यक्ष पौडेलले सम्पूर्ण अतिथि र सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस