२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । लामो समय सुस्त देखिएको कर्जा प्रवाह आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कर्जा प्रवाह बढेको हो । गएको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड (७.१ प्रतिशत) ले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा भने ०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।

२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकहरुको ४.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ ।

२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पती अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउछ ।

राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत असार मसान्तको तुलनामा यो ५.७ प्रतिशतको वृद्धि हो । गत वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४ खर्ब ९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३६३ करोड खुद खरिद गरी ४ खर्ब ८४ अर्ब ७१ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४२६ करोड खुद खरिद गरी ५ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

त्यस्तै, अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु. ३८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद राष्ट्र बैंकले गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु. ३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट