विराटनगर । कोशी प्रदेशको बेरुजु रकम ५ अर्ब ४० करोड ५ लाख ७८ हजार पुगेको छ । अर्थात १.६९ प्रतिशत रहेको छ ।
महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशको बेरुजु प्रतिशत भने घटेको छ ।
महालेखाको गत वर्षको प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु २.५० प्रतिशत थियो भने आर्थिक वर्ष २०७५–७६ मा ४.८२ प्रतिशत थियो । अहिले त्यो दर घटेर १.६९ कायम भएको हो ।
कोशी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा ८६ करोड ८१ लाख ८९ हजार बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यो बेरुजु मध्ये असुल गर्नुपर्ने रकम ११ करोड ३ लाख ६४ हजार रहेको छ ।
नियमित गर्नुपर्ने ६५ करोड ४१ लाख ७६ हजार, पेस्की बाँकी १० करोड ३६ लाख ४९९ हजार रहेको छ । नियमित गर्नुपर्ने बेरुजुमध्ये अनियमित भएको रकम २९ करोड ७६ लाख ८७ हजार रहेको छ भने प्रमाण कागजात पेस नभएको बेरुजु ३५ करोड ६४ लाख ८९ हजार रहेको छ ।
गत आर्थिक वर्षसम्म बाँकी बेरुजु ५ अर्ब ५८ करोड ४ लाख ७ हजारमध्ये १ अर्ब ४ करोड ८० लाख १३ हजार रुपैयाँ फर्स्यौट भएको छ । बाँकी रहेको ४ अर्ब ५३ करोड २३ लाख ९४ हजार बेरुजुमा यस वर्षको बेरुजु रकम थप गर्दा प्रदेशको जम्मा हालसम्मको बेरुजु रकम भने ५ अर्ब ४० करोड ५ लाख ७८ हजार पुगेको छ ।
कोशी प्रदेशको खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ । मन्त्रालयको ३.९२ प्रतिशत रहेको छ भने अन्य ७ मन्त्रालय तथा निकायको बेरुजु १ प्रतिशत भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै लेखापरीक्षणको क्रममा प्रदेशका मन्त्रालय तथा निकायहरूले १ करोड २७ लाख २४ हजार, प्रारम्भिक प्रतिवेदन पठाएपछि ८३ लाख २६ हजार र सम्परीक्षणको क्रममा २२ करोड १२ लाख ४८ हजारसमेत गरी २४ करोड २२ लाख ९८ हजार असुल भएको छ ।
यो वर्ष थप भएको असुल गर्न बाँकी ९ करोड ८८ लाख २१ हजारमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ७३ लाख ३२ हजार (४७.९० प्रतिशत) र बाँकी मन्त्रालय तथा निकायको ५ करोड १४ लाख ८९ हजार (५२.१० प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, गत वर्षको म्याद नाघेको पेस्की ३ अर्ब ६९ करोड ९९ लाख ६८ हजार रहेकोमा यस वर्ष ४ करोड ९५ लाख ४९ हजार फछ्र्यौट भएको तथा यस वर्ष थप भएको १० करोड २८ लाख ९९ हजार समेत गरी पेस्की रकम ३ अर्ब ७५ करोड ३३ लाख १८ हजार बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस