२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सगरमाथा संवाद : सहरीकरणको प्रमुख समस्या वायुप्रदूषण

शनिवार , जेठ ४, २०८२

काठमाडौँ । सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायुप्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो सहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायुप्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको भन्दै चिन्ता जनाएका हुन् ।

सत्रका वक्ताहरुले जलवायुजन्य विपद्का कारण सहरहरु असुरक्षित रहेको बताएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताए ।

‘असोजको बाढी नयाँ जलवायुजन्य विनाशकारी घटना हुन्, जनचेताको अभावका कारण पनि विपद्ले क्षति पुगेको छ’, उनले भने, ‘अब दिगो र जलवायुमैत्री पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।’

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिइन् । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपद्मैत्री सहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा. बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा सहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताए । सहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उनले आग्रह गरे ।

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपद्मैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो सत्रको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट